पटेकामुक्त दीपावलीका लागि राष्ट्रव्यापी अभियान शुरु, नोभेम्बर 8 सम्म जारी रहने
पटेकामुक्त दीपावलीका लागि राष्ट्रव्यापी अभियान शुरु, नोभेम्बर 8 सम्म जारी रहने


नयाँ दिल्ली, २० अक्टोबर (हि.स.)। दिवालीका अवसरमा वायु प्रदूषण कम गर्न र पर्यावरणमैत्री उत्सवलाई प्रोत्साहन दिन डब्ल्यूडब्ल्यूएफ-इन्डियाले देशव्यापी हरित दिवाली अभियान शुरु गरेको छ। यो अभियान अक्टोबर २० देखि नोभेम्बर ८ सम्म सञ्चालन हुनेछ। यसअन्तर्गत मानिसहरूलाई पटेका नपड्काउन, दियो तथा ऊर्जा दक्ष प्रकाशको प्रयोग गर्न र फोहोरको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।

केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयको सहयोगमा डब्ल्यूडब्ल्यूएफ-इन्डियाको कार्यक्रम केन्द्र तथा स्रोत साझेदारले यो पहल सुरु गरेको हो। अभियानअन्तर्गत विद्यालय, कलेज, शैक्षिक संस्था, आवासीय कल्याणकारी सङ्घ तथा स्थानीय समुदायसम्म पुगिनेछ। यसमा राष्ट्रिय स्वच्छ वायु कार्यक्रमअन्तर्गत समावेश गरिएका १३० शहरमा विशेष ध्यान दिइनेछ।

अभियानअन्तर्गत मानिसहरूलाई हरित दिवाली मनाउने शपथ लिन तथा परिवारका सदस्य र छिमेकीहरूलाई पनि पटेकाबाट टाढा रहन प्रेरित गर्न आग्रह गरिएको छ। यसका साथै एकपटक प्रयोग हुने प्लास्टिकबाट बच्न, फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिन अपील गरिएको छ। शैक्षिक संस्थान तथा सामुदायिक समूहहरूलाई सभा, कक्षा, र्याली र सामुदायिक बैठकमा शपथ कार्यक्रम आयोजना गर्न प्रोत्साहित गरिएको छ।

डब्ल्यूडब्ल्यूएफ-इन्डियाले नागरिकहरूलाई कार्बन फुटप्रिन्ट सर्वेक्षणमा सहभागी हुन पनि आग्रह गरेको छ। यसबाट मानिसहरूले आफ्नो दैनिक गतिविधि तथा उपभोगले वातावरणमा पार्ने प्रभाव बुझ्न सक्नेछन् र थप दिगो जीवनशैली अपनाउन सक्नेछन्।

अभियानमा सहभागी हुने विद्यालय, कलेज, संस्था तथा सामुदायिक समूहहरूलाई आफ्ना गतिविधिहरूको विवरण अनलाइन साझा गर्न भनिएको छ। यसमा संस्थाको नाम र स्थान, गतिविधि सम्पन्न भएको मिति, शपथ लिने सहभागीहरूको सङ्ख्या, स्थान उल्लेख गरिएका तस्बिर तथा संक्षिप्त प्रतिवेदन समावेश गर्नुपर्नेछ। छनोट गरिएका विवरणहरू अभियानका वेबसाइट तथा सामाजिक सञ्जालका माध्यममा साझा गर्न सकिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande