
देहरादुन, २० अक्टोबर (हि.स.)। देहरादुनको पटेलनगर थाना क्षेत्रमा सम्पत्ति कारोबारीलाई झुटो समाचार प्रसारण गर्ने धम्की दिँदै पाँच लाख रुपियाँ मागेको आरोपमा पुलिसले अनुज अग्रवाललाई पक्राउ गरेको छ। आरोपीले आफूलाई एक समाचार प्लेटफर्मको सञ्चालक बताउँदै कारोबारीलाई ब्ल्याकमेल गरेको र डरका कारण पीड़ितले उनको ब्यांक खातामा ५० हजार रुपियाँ जमा गरेको बताइएको छ।
पुलिस अनुसार, आजाद कोलोनी, माजरा निवासी तनवीर खानले १९ अक्टोबरमा उजुरी दिएका थिए। सम्पत्ति सम्बन्धी विवादको समाचार प्रसारण नगर्न भन्दै आरोपीले पाँच लाख रुपियाँ मागेको र बाँकी रकम नदिए गालीगलौज गर्दै बर्बाद पार्ने धम्की दिएको उजुरीमा उल्लेख छ।
उजुरीका आधारमा पुलिसले १९ अक्टोबर राति आईएसबीटी नजिकबाट अनुज अग्रवाललाई पक्राउ गरेको हो। उनी पटेलनगर कोतवालीका हिस्ट्रीसिटर हुन्। पुलिसले उदेखि तीन वटा मोबाइल फोन र एउटा डायरी जफत गरेको छ। डायरीमा मोबाइल लुकाएर गोप्य रूपमा भीडियो खिच्न मिल्ने व्यवस्था रहेको र मोबाइलमा विभिन्न व्यक्तिका भीडियो भेटिएको पुलिसले जनाएको छ। ती भीडियोको जाँच भइरहेको छ।
पुलिस अनुसार, आरोपी विरुद्ध देहरादुन सहित मध्य प्रदेश, पञ्जाब, ओडिशा र गुजरातमा समेत विभिन्न मुद्दा दर्ता भएको जानकारी प्राप्त भएको छ। उ विरुद्ध ठगी, कुटपिट र विश्वासघात लगायतका मुद्दा छन्। यस घटनामा भारतीय न्याय संहिताका विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी