राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न नेताद्वारा विजयादशमीको शुभकामना
प्रतीकात्मक


नयाँ दिल्ली, २० अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताहरूले मङ्गलबार विजयादशमीको पावन अवसरमा देशवासीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

राष्ट्रपति मुर्मु र उपराष्ट्रपति राधाकृष्णनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण भारतीयहरूलाई विजयादशमीको हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लास र विश्वासको यो विजय पर्वले सबैको सङ्कल्पलाई नयाँ शक्ति प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। सबैको जीवन सुख, सौभाग्य र सफलताले समृद्ध बनोस् भन्ने कामना पनि उनले गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले विजयादशमी अर्थात् दसैँ केवल एउटा पर्व मात्र नभई सत्य, न्याय र सदाचारप्रतिको अटुट विश्वासको प्रतीक भएको बताएका छन्। अन्याय, अत्याचार र दुष्टता जतिसुकै शक्तिशाली भए पनि अन्ततः सत्य र धर्मकै विजय हुने सन्देश यस पर्वले दिने उनले उल्लेख गरेका छन्।

भगवान् श्रीरामले रावणको वध गरेको प्रसङ्गले अधर्ममाथि धर्म र खराबीमाथि असलको विजयको सन्देश दिने बताउँदै बिरलाले यस पर्वले आफ्नो जीवनबाट अहङ्कार, अन्याय र नकारात्मकता त्यागेर सत्य, मर्यादा तथा नैतिकताको मार्गमा हिँड्न प्रेरित गर्ने उल्लेख गरेका छन्। उनले यस विजयादशमीमा सत्य र सदाचारका मूल्यहरू आत्मसात् गर्दै उत्कृष्ट समाज निर्माण गर्ने सङ्कल्प लिन सबैलाई आह्वान गरेका छन्।

रक्षामन्त्री राजनाथ सिंहले विजयादशमीको पर्व अधर्ममाथि धर्म, असत्यमाथि सत्य र खराबीमाथि असलको विजयको प्रतीक रहेको बताएका छन्। यो पर्व देशको आस्था, सभ्यता र सांस्कृतिक परम्पराको उत्सव पनि रहेको उल्लेख गर्दै उनले यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै समाजमा सद्भाव र सौहार्द बढाओस् भनी कामना गरेका छन्।

केन्द्रिय गृह तथा सहकारितामन्त्री अमित शाहले यस पर्वले धर्म, मर्यादा र कर्तव्यको मार्गमा दृढतापूर्वक अघि बढ्न प्रेरणा दिने बताएका छन्। भगवान् श्रीरामको कृपाले सबैको जीवनमा उल्लास र नयाँ ऊर्जाको सञ्चार होस् भन्ने कामना पनि उनले गरेका छन्।

केन्द्रिय स्वास्थ्यमन्त्री जेपी नड्डाले अधर्ममाथि धर्म, असत्यमाथि सत्य र खराबीमाथि असलको शाश्वत विजयको प्रतीक विजयादशमीले सत्य, साहस र मर्यादाको मार्गमा अडिग रहन प्रेरित गर्ने बताएका छन्। भगवान् श्रीरामले सबैलाई सधैँ धर्मको मार्गमा अघि बढ्न मार्गदर्शन गरून् भन्ने कामना उनले गरेका छन्।

केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंहले अधर्म, असत्य, अन्याय र अत्याचारमाथि धर्म, सत्य, न्याय तथा सदाचारको शाश्वत विजयको प्रतीक यस पावन पर्वले सबैलाई आफ्ना आन्तरिक खराबीहरू त्यागेर मानवताको मार्गमा हिँड्न प्रेरणा दिने बताएका छन्। भगवान् श्रीरामको कृपाले प्रत्येक हृदय धर्म र सत्यको प्रकाशले आलोकित होस् भन्ने कामना उनले गरेका छन्।

केन्द्रिय वस्त्रमन्त्री गिरिराज सिंहले विजयादशमीको महान् पर्वले सबैलाई आफ्नो जीवनबाट खराबी हटाउँदै सदाचार, संयम र कर्तव्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन्। भगवान् श्रीरामको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धिको सञ्चार होस् भन्ने कामना पनि उनले गरेका छन्।

भारतीय राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेले सत्यको असत्यमाथि, न्यायको अन्यायमाथि र असलको खराबीमाथि विजयको यो महान् पर्वले सबैलाई अहङ्कार, द्वेष र भेदभावभन्दा माथि उठ्न प्रेरणा दिने बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande