
गुवाहाटी, २३ अक्टोबर (हि.स.)। असमको कछार जिल्लामा पुलिसले विशेष सूचनाका आधारमा अभियान चलाउँदै गए राति १९ करोड रुपियाँभन्दा बढी मूल्यका याबा ट्याब्लेट बरामद गरेको छ। यस क्रममा एक जना तस्करलाई पनि पक्राउ गरिएको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उक्त जानकारी साझा गरेका छन्। उनले लेखेका छन्, ‘मिसन इम्पोसिबल? असममा त पटक्कै होइन!’ पुलिसका कार्यकुशलताको प्रशंसा गर्दै मुख्यमन्त्रीले सीमामा गाडी परिवर्तन गर्दैमा परिणाम परिवर्तन नहुने बताएका छन्।
कछार पुलिसले १९ करोड ६० लाख रुपियाँ मूल्यका ७८ हजार ४०० वटा संदिग्ध ‘याबा’ ट्याब्लेट बरामद गर्नुका साथै एक जना तस्करलाई पक्राउ गरेको छ। साथै, याबा ट्याब्लेट ओसारपसार गर्न प्रयोग गरिएको एएस-११जेड-७१८८) नम्बरको कार पनि जफत गरिएको छ।
मुख्यमन्त्रीले असम पुलिसले यी अपराधीहरूको कथाको अर्को भाग अर्थात् ‘सिक्वेल’ बन्न नदिन सुनिश्चित गरिरहेको बताएका छन्। यसका लागि आवश्यक सबै कदम चालिँदै गरेको उनले उल्लेख गरेका छन्।
उल्लेखनीय छ, असम सरकारले राज्यभर लागुऔषधविरुद्ध व्यापक अभियान सञ्चालन गरिरहेको छ। यस अभियानका क्रममा नियमित रूपमा ठूलो परिमाणमा हेरोइन, ब्राउन सुगर, अफिम, गाँजा, प्रतिबन्धित कफ सिरप, याबा ट्याब्लेटलगायत विभिन्न प्रकारका लागुऔषध बरामद हुनुका साथै तस्करहरू पनि पक्राउ पर्दै आएका छन्।
/ बिशाल