ब्लुमिङ याङ्गाङको उद्देश्य सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माणमा योगदान पुर्याउनु: राज कुमारी थापा
ब्लुमिङ याङ्गाङ 2026’ को दोस्रो संस्करण याङ्गाङमा शुरु


नाम्ची, 29 अक्टबर (हि.स.)। ‘ब्लुमिङ याङ्गाङ 2026’ को दोस्रो संस्करण बिहीवार याङ्गाङमा शुरु भएको छ। याङ्गाङ पर्यटन विकास समिति (वाईटीडीसी) द्वारा आयोजित यस कार्यक्रमलाई मुख्य अतिथिका रूपमा उपस्थित राज्य सड़क तथा पुल विभागका मन्त्री एनबी दाहालले उद्घाटन गरे। 29 देखि 31 अक्टोबरसम्म चल्ने उक्त तीन दिवसीय कार्यक्रमले यस क्षेत्रको पुष्प खेतीको सम्भावना, स्थानीय उद्यमशीलता, पर्यटन र समृद्ध सांस्कृतिक सम्पदालाई उजागर गर्दछ।

यो पुष्प प्रदर्शनी तथा बिक्री कार्यक्रम वाईटीडीसीले सिक्किम सरकारको कृषि तथा बागवानी विकास विभाग र खाद्य प्रशोधन विभागसँगको सहकार्यमा आयोजना गरेको हो।

उद्घाटन समारोहमा सिक्किम विधानसभाकी उपाध्यक्ष तथा क्षेत्र विधायक राजकुमारी थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, याङ्गाङका महकुमा अधिकारी केएल दाहाल, सिक्किम इन्स्पायरकी रोहिणी प्रधानसहित अन्यको उपस्थिति रहेको थियो।

यस वर्ष ब्लुमिङ याङ्गाङ नाम्ची जिल्लास्तरमा आयोजना गरिएको छ, जसमा 50 भन्दा बढ़ी पुष्प प्रदर्शनी पसल राखिएका छन्। यस पहलको उद्देश्य पुष्प खेतीलाई प्रवर्द्धन गर्नु, स्थानीय उद्यमशीलतालाई प्रोत्साहन दिनु, पर्यटनलाई सुद़ृढ़ पार्नु तथा यस क्षेत्रका कला र सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउनु हो।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक तथा विधानसभा उपाध्यक्ष राजकुमारी थापाले ब्लुमिङ याङ्गाङको परिकल्पना मुख्यमन्त्री पीएस गोलेको सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माण गर्ने दूरदृष्टिमा योगदान पुर्‍याउने उद्देश्यले गरिएको बताइन्।

उनले राङ्गाङ-याङ्गाङ निर्वाचन क्षेत्रका मानिसहरूलाई जीविकोपार्जनको दिगो माध्यमका रूपमा साना उद्यम र पुष्प खेतीतर्फ लाग्न प्रोत्साहित गर्नुको महत्त्वमाथि जोड़ दिइन्। स्थानीय कृषकहरूलाई पुष्प खेतीबाट प्राप्त हुने अवसरहरूको सदुपयोग गर्न आग्रह गर्दै उनले विभिन्न पेय पदार्थ र चिया बनाउन फूलहरूको सम्भावनाबारे प्रकाश पारिन्। यसले मूल्य अभिवृद्धि, उद्यमशीलता र आयार्जनका लागि थप बाटोहरू खोल्न सक्ने बताइन्।

कार्यक्रममा मुख्य अतिथिका रूपमा रहेका मन्त्री दाहालले ब्लुमिङ याङ्गाङले स्थानीय बासिन्दाहरूलाई कृषि तथा पुष्प खेतीमा संलग्न हुन प्रोत्साहित गर्नुका साथै यस क्षेत्रको कला र संस्कृतिको प्रवर्द्धन तथा संरक्षण गरिरहेको बताए। उनले गत सात वर्षमा याङ्गाङ क्षेत्रमा एसकेएम सरकारद्वारा सञ्चालित विकासका पहलहरूबारे चर्चा गर्दै निरन्तर विकास र सामुदायिक सहभागिताको महत्त्वमा जोड़ दिए।

सिक्किम इन्स्पायरकी निर्देशक रोहिणी प्रधान र कला, संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राईले पनि कार्यक्रमलाई सम्बोधन गरे। उनीहरूले स्थानीय विकास, सांस्कृतिक संरक्षण र आर्थिक अवसरहरूलाई टेवा पुर्‍याउने पहलहरूको महत्त्वबारे प्रकाश पारे।

ब्लुमिङ याङ्गाङ 2026 भने 31 अक्टोबरसम्म सञ्चालन हुनेछ। कार्यक्रमले फूल उत्पादक, कृषक, उद्यमी, कलाकार र आगन्तुकहरूलाई एउटै मञ्चमा ल्याउनेछ, जसको माध्यमबाट स्थानीय प्रतिभा प्रदर्शन गर्न, कृषि उद्यमलाई प्रवर्द्धन गर्न तथा याङ्गाङको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानको उत्सव मनाउन सकिनेछ।

यस पहलमार्फत याङ्गाङ पर्यटन विकास समितिले याङ्गाङलाई एक उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ साथै दिगो जीविकोपार्जन र समुदायको नेतृत्वमा हुने विकासका लागि अवसरहरू सिर्जना गर्ने उद्देश्य पनि राखेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande