20 लाखको ठगी गिरोहको भण्डाफोर, चार जना पक्राउ
गिरफ्तार -सांकेतिक फोटो


कोलकाता, 29 अक्टोबर (हि.स.)। गड्डीको तल र माथि एउटा-एउटा असल्ली 500-को नोट र बीचमा सोही आकारको सेतो कागज! बाहिरबाट एउटा प्रतिष्ठित निजी ब्याङ्कको नक्कली लेबल टाँसेर 20 लाख रुपियाँ ठग्ने षड्यन्त्रकारी गिरोहको गए बुधवार राती पुलिसले भण्डाफोर गरेको छ। पुलिसले बड़ाबजार क्षेत्रबाट दुई जना युवकहरूलाई रङ्गे हात समात्यो। पछि उनीहरूसित सोधपुछको आधारमा गिरोहका अन्य दुई जना सदस्यहरूलाई हावड़ाबाट पक्राउ गरियो।

पुलिस सूत्र अनुसार गत 27 अक्टोबरमा बड़ाबजार थानाको पुलिसलाई सूचना प्राप्त भएको थियो, स्ट्र्याण़्ड रोड र मिरबहर घाट स्ट्रिटको चौरस्तामा दुई जना संदिग्ध व्यक्तिहरू नक्कली नोटको बण्डल लिएर घुमिरहेका छन्। गुप्त सूचनापछि पुलिसले तुरुन्तै कारबाही गर्दै विजयपाल तँवर उपनाम अरविन्द (23) र शिव थापा (24) नामक दुई जना युवकहरूलाई हिरसतमा लियो। विजयपालको ब्याकप्याकको खोजी गर्दा नोटका चार वटा बण्डल फेला पऱ्यो। प्रत्येक बण्डलमा निजी ब्याङ्कको नक्कली लेबल थियो जसमा 'पाँच लाख रुपियाँ' लेखिएको थियो। अर्थात मोठ चार वटा बण्डलमा 20 लाख रुपियाँ रहेको दाबी गरिएको थियो। तर पुलिसले बण्डल खोल्दा ठगी गर्ने वास्तविक तरिकाको खुलासा भयो।

पुलिसले देख्यो, प्रत्येक बण्डलमा सबैभन्दा माथि र तल 500 रुपियाँको नोट राखिएको थियो जबकि नोटको आकारमा काटिएको सेतो रङ्गको कागजका 998 टुक्रा बीचमा राखिएको थियो। चार वटा बण्डल सहित चार हजार रुपियाँ (500 रुपियाँका मोट आठवटा नोट)- को वास्तविक रकम मात्रै बरामद गरियो। पुलिसले कानूनी प्रक्रियालाी पालन गर्दै भिडियोग्राफी सहित ती बण्डलहरूलाई जफत तथा सील गरिदियो अनि आरोपीहरूलाी जफती सूची (सीजर लिस्ट)-को प्रति सुम्पिदियो। त्यसपछि दुवैलाई पक्राउ गरी उनीहरूका परिवारलाई जानकारी दिइयो।

यस घटनाको सम्बन्धमा गत 27 अक्टोबरमा भारतीय दण्ड संहिता (आईपीसी)- को धारा 318 (4), 336 (3), 340 (2), 112, 61 (2) र 3 (5) अन्तर्गत ठगी, जालझेल तथा आपराधिक षड्यन्त्र (केस नम्बर 171/2026)- को मुद्दा बड़ाबजार पुलिस स्टेशनमा दर्ता गरी जाँच शुरू गरियो।

पक्रा परेका दुई जना युवकहरूलाई कड़ा सोधपुछ गरेपछि अनुसन्धानकर्ताहरूले गिरोहका अन्य दुई जना ह्याण्डलरहरूको बारेमा सुइँको पाए। उनीहरूको बयानको आधारमा हावडामा छापामारी गरी सुनिल कुमार वर्मा (47) र गोपाल गुर्जर (24)- लाई पनि गए बुधवार राती पक्राउ गरियो। पुलिसले पक्रा परेका अभियुक्तहरूबाट नक्कली बण्डल बनाउने प्रिन्टर, पेपर-रिम कटर, सेतो बण्ड पेपरको दुई वटा बक्सा र केही उपकरणहरू बरामद गरेको छ। पुलिसले अहिले यस विषयमा अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande