शिक्षा मन्त्री बस्नेतले वैज्ञानिक ज्ञानको विकासमा शैक्षिक सहकार्यको महत्त्वमाथि जोड दिए
कम्प्युटेसनल गणित तथा अनुप्रयोगसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन


गान्तोक, 29 अक्टोबर (हि.स.)। कम्प्युटेसनल गणित तथा अनुप्रयोगसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन (आईसीसीएमए २०२६) को उद्घाटन आज गान्तोकस्थित एक होटलमा सम्पन्न भयो। सम्मेलनमा भारत तथा विदेशका प्राध्यापक, अनुसन्धानकर्ता, विद्वान् तथा विषयविज्ञहरू सहभागी बनेका छन्। उनीहरूले कम्प्युटेसनल गणित र यसको प्रयोगका क्षेत्रमा भइरहेका नवीनतम विकासबारे विचारविमर्श गर्नेछन्।

२९ र ३० अक्टोबर दुई दिनसम्म सञ्चालन हुने यस अन्तरराष्ट्रिय सम्मेलनको संयुक्त आयोजना राष्ट्रिय प्रविधि संस्थान (एनआईटी) सिक्किम, एनआईटी सिलचर र एनआईटी नागाल्यान्डले गरेका हुन्।

उद्घाटन सत्रमा राज्य शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा स्लोभाकियाको स्लोभाक एकेडेमी अफ साइन्सेसकी प्राध्यापक इभाना बुडिन्स्का, दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीका प्राध्यापक आरके शर्मा तथा एनआईटी पटनाका निर्देशक प्राध्यापक प्रदीप कुमार जैन विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै शिक्षा मन्त्री बस्नेतले वैज्ञानिक ज्ञानको विकासमा शैक्षिक सहकार्यको महत्त्वमाथि जोड दिए। उनले आधुनिक विज्ञान तथा प्रविधिको आधारका रूपमा गणितको भूमिकाबारे चर्चा गर्दै कृत्रिम बुद्धिमत्ता, चिकित्सा, इन्जिनियरिङ तथा मौसम पूर्वानुमानजस्ता क्षेत्रमा यसको बढ्दो महत्त्व उल्लेख गरे।

भारतको गणितीय योगदानको चर्चा गर्दै मन्त्री बस्नेतले शून्य, दशमलव प्रणाली तथा प्रारम्भिक गणितीय अवधारणाहरूको विकासमा भारतको ऐतिहासिक योगदानले आधुनिक गणनात्मक प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। विद्वत् तथा सांस्कृतिक आदान-प्रदानका माध्यमबाट भारतीय गणितीय विचारहरू विभिन्न क्षेत्रमा फैलिएको पनि उनले उल्लेख गरे।कृत्रिम बुद्धिमत्ताको तीव्र विकासबारे बोल्दै उनले कम्प्युटेसनल गणित तथा तथ्याङ्कमा आधारित उपकरणहरूले सिक्किमका विशिष्ट समस्याहरू समाधान गर्न सहयोग पुर्‍याउन सक्ने बताए। विशेषगरी पैह्रोको पूर्वानुमान तथा मौसम र पर्यावरणसँग सम्बन्धित जोखिमहरूको पहिचानमा यस्ता प्रविधिको उपयोगिता रहने उनले बताए।युवाहरूमा अनुसन्धानप्रतिको रुचि र वैज्ञानिक सोच विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै मन्त्री बस्नेतले राष्ट्रिय शिक्षा नीति २०२० को परिकल्पनाअनुरूप गुणस्तरीय शिक्षा प्रदान गर्न तथा युवाहरूमा वैज्ञानिक क्षमता अभिवृद्धि गर्न सिक्किम सरकार प्रतिबद्ध रहेको बताए।उनले सम्मेलनमा सहभागी प्रतिष्ठित प्राध्यापक तथा अनुसन्धानकर्ताहरूसँग अन्तरक्रिया गरी ज्ञान हासिल गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गरे। साथै, वरिष्ठ प्राज्ञिक व्यक्तित्वहरूलाई नयाँ पुस्ताका अनुसन्धानकर्ताहरूलाई मार्गदर्शन गर्न तथा संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउन आग्रह गरे।उनले सिक्किमका विद्यार्थीहरूका लागि ज्ञान, अवसर तथा अनुभवको दायरा विस्तार गर्ने शैक्षिक र अनुसन्धानसम्बन्धी पहलहरूलाई राज्य सरकारले निरन्तर सहयोग गर्ने आश्वासन पनि दिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande