
खरसाङ, 0३ अक्टोबर (हि.स.)। खरसाङको डाउहिल क्षेत्रका महिलाहरूद्वारा गठित आस्था सेवा समितिको आयोजनामा शनिबार डाउहिलस्थित सुनौलो परिवार सामुदायिक भवनमा रक्तदान शिविर आयोजना गरिएको छ।
शिविरमा खरसाङ महकुमा अस्पतालका चिकित्सक पीके पोद्दार, नर्स निरन राई, परामर्शदाता सुनिल गिरी, प्राविधिक अजय पाण्डेलगायत अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
रक्तदान शिविर सुरु हुनुअघि राष्ट्रपिता महात्मा गान्धीको तस्वीरमा धूप-दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। शिविरमा जम्मा १७ जनाले रक्तदान गरेका थिए। संकलित सम्पूर्ण रगत खरसाङ महकुमा अस्पतालमा जम्मा गरिने बताइएको छ।
डाउहिल क्षेत्रमा २०२० मा स्थापना भएको आस्था सेवा समितिले कोभिड-१९ महामारीको समयदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ। समितिले बिरामीहरूलाई सहयोग गर्नुका साथै वृद्धाश्रममा सहयोग, गाउँ-घरमा सरसफाइ तथा अन्य सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। यही क्रममा यसपटक रक्तदान शिविर आयोजना गरिएको समितिले जनाएको छ।
रक्तदान शिविरबारे पत्रकारहरूसँग कुराकानी गर्दै समितिकी अध्यक्षा उषाकिरण तामाङले शिविरमा उपस्थित चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई आस्था सेवा समितिको धन्यवाद दिएकी छन्।
हिन्दुस्थान समाचार / हनोक