
खरसाङ, 0३ अक्टोबर (हि.स.)। खरसाङ महकुमा खेलकुद संघको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित स्वर्गीय लुत्ते सिंह सार्की विजेता तथा स्वर्गीय सुकमाया सार्की उपविजेता त्रिस्तरीय अन्तर कार्यालय लिग फुटबल प्रतियोगिताको उपाधि खरसाङ ट्राफिक पुलिसले जितेको छ।
गत १९ सेप्टेम्बरदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न ११ वटा कार्यालयका फुटबल टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताको फाइनल खेल आज खरसाङ ट्राफिक पुलिस र एयरफोर्स बाघौडाबीच सम्पन्न भएको थियो।
फाइनल खेलको पहिलो हाफको २२औँ मिनेटमा खरसाङ ट्राफिक पुलिसका दिवस तामाङले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। पहिलो हाफको खेल यही अन्तरमा समाप्त भयो।
दोस्रो हाफमा एयरफोर्स बाघौडाले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन। यता, ट्राफिक पुलिसका भवेस तामाङले दोस्रो हाफमा अर्को गोल गर्दै टोलीको अग्रता २-० बनाए। ट्राफिक पुलिसले दोस्रो हाफमा गोल गर्ने थप अवसरहरू पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। एयरफोर्सले पनि गोलका लागि लगातार प्रयास गरे पनि सफल हुन नसकेपछि खेल २-० को अन्तरले ट्राफिक पुलिसको पक्षमा समाप्त भयो।
यससँगै खरसाङ ट्राफिक पुलिसले स्वर्गीय लुत्ते सिंह सार्की विजेता तथा स्वर्गीय सुकमाया सार्की उपविजेता त्रिस्तरीय अन्तर कार्यालय लिग फुटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्न सफल भयो।
फाइनल खेलमा खरसाङका विधायक सोनाम लामा मुख्य अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिका रूपमा वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, खरसाङ महकुमा खेलकुद संघका कार्यकारी अध्यक्ष मोहन योञ्जन, मुख्य संरक्षकद्वय टीटी लामा र एसबी सुनवार, सल्लाहकार दावा गोले, ट्राफिक पुलिस प्रभारी विकास चामलिङ, खरसाङ टाउन पुलिस आउटपोस्टका अधिकारी सागर प्रधान, सार्की परिवारका तर्फबाट विशाल सार्कीलगायत अन्य अतिथिहरू उपस्थित थिए। अतिथिहरूको बाहुलीबाट विजेता तथा अन्य टोलीलाई पुरस्कार वितरण गरियो।
प्रतियोगितामा खरसाङ ट्राफिक पुलिसका दिप विश्वकर्म प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए। ट्राफिक पुलिसकै दिवस तामाङ फाइनल खेलका उत्कृष्ट खेलाडी तथा भवेस तामाङ सर्वाधिक गोलकर्ता बने। प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि आकाशवाणी खरसाङका गोलरक्षक मौसम नेवारले प्राप्त गरे।
प्रतियोगिताबारे पत्रकारहरूसँग कुराकानी गर्दै खरसाङ महकुमा खेलकुद संघका सचिव निर्मल गुरुङले प्रतियोगितामा सहभागी सबै टोली तथा उपस्थित अतिथिहरूप्रति आभार व्यक्त गरे। उनले खरसाङ महकुमा खेलकुद संघको आयोजनामा आगामी नोभेम्बरमा अन्तर कार्यालय टी-१० क्रिकेट प्रतियोगिता आयोजना गरिने जानकारी दिए।
हिन्दुस्थान समाचार / हनोक