
गान्तोक, 03 अक्टोबर (हि.स.)। लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले हालैको नयाँ दिल्ली भ्रमणका क्रममा नागरिक उड्डयनमन्त्री किञ्जरापु राममोहन नायडुजीसँग उनकै कार्यालयमा भेट गरी पाकिम विमानस्थलसम्बन्धी विभिन्न विषयमा छलफल गरेका छन्।
भेटघाटको क्रममा डा. सुब्बाले विशेषगरी पाकिम विमानस्थलको संरचनागत र भू-प्राविधिक सुरक्षाबारे चिन्ता व्यक्त गरे र मन्त्रालयलाई सम्पूर्ण विमानस्थल संरचना तथा यसको वरिपरिको क्षेत्रको विस्तृत भू-प्राविधिक अध्ययन गर्न आग्रह गरे।
सांसदले चुनौतीहरूको प्रकृति र दायरालाई हेर्दा व्यक्तिगत वा सीमित क्षेत्रका समस्याहरू समाधान गर्नाले मात्र विमानस्थल क्षेत्र पर्याप्त सुरक्षित नहुने वा दिगो समाधान ननिस्कने विषयमा ध्यानाकर्षण गराए। उनले मन्त्रालयलाई सम्पूर्ण विमानस्थल पूर्वाधार र यसको भूप्राविधिक अवस्थाको समग्र मूल्याङ्कन गर्न तथा त्यसपछि उपयुक्त र वैज्ञानिक रूपमा निर्धारित न्यूनीकरणका उपायहरू अपनाउन आग्रह गरे।
सांसदले भने, “पाकिमका जनताको तर्फबाट मैले मन्त्रीसमक्ष सम्पूर्ण विमानस्थल संरचनाको तत्काल विस्तृत अध्ययन गर्न र त्यसपछि उपयुक्त न्यूनीकरणका उपायहरू अपनाउन अनुरोध गरेको छु। सीमित क्षेत्रका समाधानले मात्र यस क्षेत्रलाई सुरक्षित बनाउन सकिँदैन। पाकिम विमानस्थलको दीर्घकालीन सुरक्षा र सुदृढ़ता सुनिश्चित गर्न समग्र मूल्याङ्कन आवश्यक छ।”
उनले पाकिम विमानस्थल सिक्किमका लागि हवाई सम्पर्कको एक महत्त्वपूर्ण संरचना भएको र यसको सुरक्षा तथा दीर्घकालीन सञ्चालन क्षमता राज्यका जनताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा पनि जोड़ दिए।
डा. सुब्बाले मन्त्रालयलाई प्रस्तावित अध्ययनलाई प्राथमिकता दिन र त्यसका निष्कर्षहरूका आधारमा आवश्यक कारबाही अघि बढ़ाउन अनुरोध गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल