
इटानगर, 31 अक्टोबर (हि.स.)। भगवान बुद्धका पवित्र अवशेषहरू आज तवाङ आइपुगेका छन्। यसलाई भारतीय वायुसेनाले नयाँ दिल्लीबाट तवाङसम्म सुरक्षित पुऱ्यायो।
अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले भगवान बुद्ध (शाक्यमुनी)- का पवित्र अवशेषहरू सुरक्षित रूपमा ल्याएकोमा भारतीय वायुसेनाप्रति कृतज्ञता व्यक्त गरे।
उनले भने, तपाईँको व्यावसायिक दक्षता, समर्पण एवं सेवाको कारणले महान आध्यात्मिक महत्त्वको यो क्षण अरुणाचल प्रदेश र लाखौँ बौद्ध भक्तहरूसम्म आइपुगेको छ।
यस ऐतिहासिक अवसरको हिस्सा बनेकोमा भारतीय वायुसेनालाई धन्यवाद।
यो अरुणाचल प्रदेशमा ऐतिहासिक आध्यात्मिक यात्राको शुरुवात हो। यी अवशेषहरूलाई आगामी तीन हप्तासम्म तवाङ, बोमडिला र नामसाईमा सार्वजनिक दर्शनको लागि राखिने छ।
मुख्यमन्त्री पेमा खाण्डुले नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्रहालयबाट ल्याइएका यी पवित्र अवशेषहरूलाई स्वागत गरे। उनले यसलाई अरुणाचल प्रदेशको लागि ठूलो सम्मान र राज्यको बौद्ध समुदायका लागि ऐतिहासिक क्षण बताए।
सोशल मिडियाको एक पोस्टमा खाण्डुले भने, तवाङमा यी पवित्र अवशेषहरूलाई स्वागत गर्नु अरुणाचल प्रदेशको लागि ठूलो सम्मानको कुरा हो। यस ऐतिहासिक अवसरले भगवान बुद्धको करुणा, शान्ति, ज्ञान र विश्वव्यापी भाइचाराको अनन्त शिक्षाप्रति हाम्रो सामूहिक प्रतिबद्धतालाई अझ गहिरो बनाओस्।
यी अवशेषहरूको ऐतिहासिक महत्त्वलाई प्रकाश पार्दै मुख्यमन्त्रीले बताए, उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लामा अवस्थित प्राचीन 'पिपरहवा स्तूप' - बाट यी अवशेषहरू प्राप्त भएको छ। यो एउटा पुरातात्विक स्थल हो जसको प्राचीन 'कपिलवस्तु'- सँग गहिरो सम्बन्ध छ जुन शाक्य वंशको जन्मस्थल थियो-जुन वंशसँग भगवान बुद्ध सम्बन्धित थिए।
त्यसपछि अवशेषहरू सार्वजनिक दर्शनको लागि तवाङ लगिएको थियो। घोषित कार्यक्रम अनुसार यी अवशेषहरूलाई नोभेम्बर 1 देखि 7- सम्म ऐतिहासिक तवाङ मठमा 8 देखि 13 नोभेम्बरसम्म बोमडिलाको थुबचोङ्ग गत्सेल लिङ्ग मठमा अनि नोभेम्बर 14 देखि 20 सम्म नामसाईको गोल्डेन पगोडामा प्रदर्शन गरिनेछ।
2 र 3 नोभेम्बरको दिन तवाङमा 'बौद्ध धर्मः हिमाली क्षेत्र तथा त्यसभन्दा अलग्गै प्रसार' विषयमा अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना गरिनेछ जसमा भारत र विदेशका बौद्ध भिक्षु, विद्वान एवं प्रतिनिधिहरू सहभागी हुनेछन्।
यी अवशेषहरू आगामी 21 नोभेम्बरमा नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्रहालयमा फर्काइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा