मन्त्री भोटियाले योकसममा निर्माणाधीन महकुमा कार्यालय भवनको निरीक्षण गरे
मन्त्री भोटिया निर्माणाधीन कार्यालयको भ्रमण गर्दै


गेजिङ, 04 अक्टोबर (हि.स.)। पर्यटन विभागका मन्त्री तथा योकसम-टाशीडिङ निर्वाचन क्षेत्रका विधायक छिरिङ टी भोटियाले योकसममा निर्माणाधीन महकुमा कार्यालय भवनको निरीक्षण गरेका छन्। योकसम हेलिप्याड नजिकै अवस्थित तीनतले एसडीएम कार्यालय भवन सिक्किम सरकारको आवास तथा भवन विभागअन्तर्गत निर्माण भइरहेको छ।

मन्त्रीले निर्माणाधीन स्थलको निरीक्षण गर्नुका साथै अधिकारी र अभियन्ताहरूसँग जारी कामको प्रगतिको समीक्षा गरे। उनले निर्माणको प्रगति र गुणस्तरप्रति सन्तुष्टि व्यक्त गरे र सम्बन्धित अधिकारीहरूलाई गुणस्तर मापदण्डमा कुनै सम्झौता नगरी कामलाई तीव्रता दिन निर्देशन दिए।

निरीक्षणको क्रममा उनले नयाँ कार्यालय परिसरका सुविधा र आवश्यकताहरूसम्बन्धी विभिन्न योजना तथा प्रस्तावहरूबारे पनि अधिकारी र अभियन्ताहरूसँग छलफल गरे।

मन्त्री भोटियाले नयाँ महकुमा अधिकारी कार्यालय निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि योकसम-टाशीडिङ महकुमाका जनतालाई ठूलो लाभ पुग्ने कुरामा जोड़ दिए। उनले भने, “महकुमाअन्तर्गत सबै कार्यालय एउटै छतमुनि आउने छन्, जसले गर्दा सर्वसाधारणले एकै ठाउँमा विभिन्न सेवा प्राप्त गर्न सक्ने छन्। त्यति मात्रै नभएर विभिन्न कार्यालय धाउँदा लाग्ने समय तथा खर्चमा कमी आउनेछ।”

मन्त्रीले अझ भने, “एकीकृत प्रशासनिक परिसर सार्वजनिक सेवा प्रवाहमा दक्षता बढ़ाउन र विभिन्न सरकारी विभागबीच समन्वय सुधार गर्न तयार गरिएको हो। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा रहेको राज्य सरकार स्थानीय शासनलाई सुदृढ़ बनाउन तथा अत्यावश्यक सार्वजनिक सेवा सुलभ, व्यवस्थित र जनमैत्री बनाउन प्रतिबद्ध छ।”

निरीक्षणका क्रममा मन्त्रीसँग जिल्ला अध्यक्ष (गेजिङ) डीएस लिम्बू, योकसमका महकुमा अधिकारी जिग्मी भोटिया, ग्राम पञ्चायत अध्यक्ष सुनिता लिम्बूसहित अन्यको उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande