
नयाँ टिहरी, 04 अक्टोबर (हि.स.)। देवप्रयाग सङ्गममा नदीमा डुब्ने घटनाहरू बढ्दै गएका छन्। आइतवार दिउँसो गङ्गाको तीव्र प्रवाहमा दुई जना युवकहरू बगाए। घटनापछि त्यहाँ कोकोहोलो मचियो। पुलिस र एसडिआरएफको टोलीले दुई युवकको खोजीमा बचाउ अभियान शुरु गरेको छ।
अलकनन्दा-भगिरथीको सङ्गममा आइतवार दिउँसो झारखण्डको दलसित आएका दुईजना युवकहरू नुहाउँदै थिए। त्यसै अवधि दुवैजना अचानक गङ्गाको तीव्र प्रवाहको चपेटामा परे। दुवैलाई केही टाढासम्म बगिरहेको देखिए पनि केही समयपछि ओझेल भए। युवकहर डुब्नसाथ उनीहरूसित आएको दलका मानिसहरूले गुहार माग्दै चिच्याउन थाले।
देवप्रयाग थानाका प्रभारी प्रशान्त बहुगुनाले बताए, बोकारो, झारखण्डको टोलीसँग आएका आशुतोष (24), पुत्र अजय र आयूष (24), पुत्र गोपाल, निवासी सेक्टर 9 स्टिल सिटी, बोकारो, झारखण्ड नुहाउन गएका थिए। तिनीहरू सुरक्षाको लागि बाँधिएका डोरीदेखि भित्र पसे।
पुलिसले उनीहरूलाई कैयौं पटक चेताउनी दिँदा पनि उनीहरूले बेवास्ता गरे। फलस्वरूप तिनीहरू गङ्गाको तीव्र प्रवाहको चपेटामा परे। पुलिस टोलीले उनीहरूलाई बचाउन धेरै प्रयास गऱ्यो, तर अहिलेसम्म सफल हुन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा