
गेजिङ, 0४ अक्टोबर (हि.स.)। पर्यटन तथा नागरिक उड्डयन एवं वाणिज्य तथा उद्योग विभागका मन्त्री छिरिङ टी भोटियाले आइतवार योकसम-टाशीडिङ निर्वाचन क्षेत्रको चोङराङ बीएसीअन्तर्गत छ ग्राम पञ्चायत एकाइका 558 लाभग्राहीलाई सिक्किम आमा सशक्तिकरण योजनाअन्तर्गत आर्थिक सहायताको चेक वितरण गरेका छन्।
यो योजनाको राज्यव्यापी कार्यान्वयनको एक भागको रूपमा महिला, बालकबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्ग कल्याण विभाग, चोङराङ बीएसीद्वारा चेक वितरण कार्यक्रमको आयोजना गरिएको थियो। योकसम-टाशीडिङ निर्वाचन क्षेत्रमा सिक्किम आमा सशक्तिकरण योजनाअन्तर्गत समेटिएका कुल 1,049 लाभग्राहीमध्ये यी 558 लाभग्राहीमा पर्दछन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोटियाले लाभग्राहीहरूलाई बधाई दिए र आमाहरूलाई आर्थिक सहयोग प्रदान गर्न तथा उनीहरूको आर्थिक स्वतन्त्रता सुदृढ़ पार्न सिक्किम आमा सशक्तिकरण योजनाको महत्त्वबारे प्रकाश पारे। उनले लाभग्राहीहरूलाई उक्त सहायता रकम आफ्नो परिवार, जीविकोपार्जन र अन्य अत्यावश्यक आवश्यकताहरूका लागि अर्थपूर्ण रूपमा सदुपयोग गर्न प्रोत्साहित गरे।
मन्त्रीले अझ अघि बढ़ेर यो योजना मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा राज्य सरकारको एक महत्त्वपूर्ण सामाजिक कल्याणकारी पहल भएको बताए, जसको उद्देश्य तल्लो तहसम्मका आमाहरूलाई आर्थिक सहायता र सशक्तिकरण प्रदान गर्नु रहेको बताए। मन्त्रीले विभिन्न कल्याणकारी योजना र कार्यक्रममार्फत जनताको सामाजिक-आर्थिक अवस्था सुधार्ने राज्य सरकारको प्रतिबद्धता दोहोर्याए र योग्य आमाहरूलाई यस योजनामा समेट्ने क्रम जारी रहने बिताए।
यसअघि, चोङाराङकी बीडीओ गीता गुरुङले आफ्नो मुख्य सम्बोधनमा उपस्थितहरूलाई योजना र यसका प्रावधानहरूबारे जानकारी गराए। यस अवसरमा मुख्यमन्त्रीका सल्लाहकार जीएम लेप्चा, सिक्किम उपभोक्ता सहकारी विभागकी अध्यक्ष शान्ति लिम्बू, चोङराङकी बीडीओ गीता गुरुङ, जिल्ला तथा ग्राम पञ्चायतका सदस्यहरू र ठूलो सङ्ख्यामा लाभग्राहीहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल