
खरसाङ, ०४ अक्टोबर (हि.स.)। गोर्खाहरूको स्थायी राजनीतिक समाधानका लागि २२ अगस्त, २०२६ मा सम्पन्न त्रिपक्षीय वार्ताप्रति भारत सरकार तथा केन्द्रिय गृहमन्त्री अमित शाहप्रति आभार र धन्यवाद व्यक्त गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले आज खरसाङमा र्यालीसहित पथसभा आयोजना गरेको छ।
गोरामुमो खरसाङ शाखा समितिको आयोजनामा सम्पन्न कार्यक्रम खरसाङ बस टर्मिनलबाट र्याली शुरु भई मोटर स्ट्यान्डमा पुगेर पथसभामा परिणत भएको थियो। कार्यक्रममा गोरामुमो केन्द्रिय समिति उपाध्यक्ष एनबी छेत्री, एनबी प्रधान, पारस गुरुङ, अरुण राई, नितिन छेत्री, वरिष्ठ गोरामुमो नेता महेन्द्र छेत्री, महेन्द्र खड्कालगायत भातृ संगठनका प्रतिनिधि तथा गोरामुमो कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो।
गोरामुमो खरसाङ शाखा समिति अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन प्रचार–प्रसार सचिव भुपेन गुरुङले गरेका थिए भने सचिव युद्ध छेत्रीले स्वागत भाषण दिएका थिए। पथसभालाई सम्बोधन गर्दै गोरामुमो तराई-सुकना संयोजक नितिन छेत्री, अञ्जय छेत्री, वरिष्ठ नेता महेन्द्र छेत्री तथा केन्द्रिय समिति उपाध्यक्ष एनबी छेत्रीले आफ्ना विचार राखेका थिए।
वरिष्ठ गोरामुमो नेता महेन्द्र छेत्रीले लामो समयपछि भारत सरकारले गोर्खाहरूलाई संवैधानिक प्रावधानअनुसार न्याय दिने प्रतिबद्धता व्यक्त गरेको भन्दै त्यसप्रति धन्यवाद ज्ञापन गर्न सभा आयोजना गरिएको बताए। उनले भने, “हाम्रो माग भनेको चाँडोभन्दा चाँडो जीटीए खारेज हुनुपर्छ। अब कुनै पनि प्रकारको जालझेल हुनु हुँदैन। यदि भारत सरकारले अझै पनि हाम्रो माग सुन्दैन भने गोरामुमो फेरि उच्चतम अदालत जानेछ।”
कार्यक्रमका प्रमुख वक्ता गोरामुमो केन्द्रिय समिति उपाध्यक्ष एनबी छेत्रीले २२ अगस्तमा सम्पन्न त्रिपक्षीय वार्ताका लागि पार्टी अध्यक्ष मन घिसिङले निरन्तर प्रयास गरेको दाबी गर्दै वार्ताको उपलब्धिलाई लिएर अरूले ठूलो-ठूलो कुरा गर्न आवश्यक नरहेको बताए।
उनले भने, “जुन वार्ता यसपालि भएको छ, त्यसका लागि पार्टी अध्यक्ष मन घिसिङले धेरै कसरत गर्नुभएको छ। अरूले आज ठूलो-ठूलो कुरा नगर्दा हुन्छ। फेरि पुरानै गन्ध आउन थालेको छ, अब सबै होसियार हुनुपर्छ।” छेत्रीले गत २७ जुलाई मुख्यमन्त्री सुभेन्दु अधिकारीको निमन्त्रणामा पार्टी अध्यक्ष मन घिसिङ, पूर्व विधायक निरज जिम्बा र आफूले वार्तामा सहभागिता जनाएको स्मरण गर्दै त्यतिबेला पनि गोरामुमोले जीटीए खारेज गरी संवैधानिक व्यवस्था लागू गर्नुपर्ने स्पष्ट माग राखेको बताए।
उनका अनुसार, मुख्यमन्त्रीले २०२७ मा जीटीएको निर्वाचन नहुने तथा गोर्खाहरूका लागि संवैधानिक व्यवस्थाअन्तर्गत निर्वाचन हुने बताएको दाबी गरे। तर, अहिलेको परिस्थितिमा आफूहरूलाई पुनः षड्यन्त्रको गन्ध आएको भन्दै उनले भारत सरकारले अब कुनै ढिलाइ गर्न नहुनेमा जोड दिए। युवा पुस्तालाई अपील गर्दै छेत्रीले भने, “युवा जेन-जी भाइहरूले आवेशमा आएर राजनीति गर्नु हुँदैन। सबै कुरा बुझेर मात्र अगाडि बढ्नुपर्छ।”
उनले गोरामुमोको हरियो झण्डाले गोर्खा जातिलाई न्याय दिलाएरै छाड्ने दाबी गर्दै पार्टी अध्यक्ष मन घिसिङलाई साथ दिन सबैलाई आह्वान गरे। उनले भने, “मन घिसिङ एउटा दर्शन भएको युवा नेता हुनुहुन्छ। उहाँको नेतृत्वमा गोर्खा जातिले न्याय पाउनेछ।”
कार्यक्रममा सहभागी वक्ताहरूले २२ अगस्तमा सम्पन्न त्रिपक्षीय वार्तालाई गोर्खाहरूको दीर्घकालीन राजनीतिक मागसँग जोडेर हेर्दै भारत सरकारले अब वार्ताको प्रक्रियालाई निष्कर्षमा पुर्याउँदै गोर्खाहरूको स्थायी राजनीतिक समाधानका लागि ठोस संवैधानिक व्यवस्था अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
हिन्दुस्थान समाचार / हनोक