
मङ्पू, ०४ अक्टोबर (हि.स.)। मङ्पू-रङ्बी बीचकमान क्षेत्रमा जंगली भालूको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। स्थानीयवासीका अनुसार, भालूले हालसम्म २५ वटाभन्दा बढी बाख्रा खाइसकेको छ।
भालूको आतङ्कका कारण गाउँवासी एक सातादेखि रातभरि जागेर बस्न बाध्य भएका छन्। स्थानीयवासीले वन विभागलाई जंगली भालूलाई चाँडो नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लैजान अपील गरेका छन्।
वन विभागले गाउँवासीलाई सतर्क रहन आग्रह गर्दै राति तथा दिउँसो माइकिङ गर्ने क्रम जारी राखेको छ। सिन्चेल वन्यजन्तु पूर्व क्षेत्रका रेन्जर प्रिया ब्लोनको नेतृत्वमा जंगली भालूको खोजी अभियान सञ्चालन भइरहेको छ।
गाउँका विभिन्न क्षेत्रमा कति वटा भालू छन् भन्ने पहिचान गर्न वन विभागले ३५ वटा सीसीटीभी क्यामेरा जडान गरेको छ। आइतबारदेखि भालूलाई नियन्त्रणमा लिन खोर राखिने वन विभागले जनाएको छ। सिन्कोना बगानका चौकीदार तथा वन विभागका कर्मचारीहरूले २४ घण्टा नै भालूको खोजी अभियान जारी राख्ने बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक