
जम्मू, 04 अक्टोबर (हि.स.)। आगामी नवरात्रमा जम्मूमा मासु र मदिरा पसलहरूलाई अस्थायी रूपमा बन्द राख्ने माग गर्दै शिवसेना डोगरा फ्रन्टले प्रदर्शन गऱ्यो। सङ्गठनका अध्यक्ष अशोक गुप्ताको नेतृत्वमा कार्यकर्ताहरूले नवरात्रको नौ दिनसम्म मासु र मदिरालाई बन्द राख्ने सम्बन्धमा स्पष्ट आदेश जारी गर्न माग प्रशासनसँग गरे।
प्रदर्शनलाई सम्बोधन गर्दै अशोक गुप्ताले भने, नवरात्रि हिन्दू धर्मको प्रमुख धार्मिक चाड़हरूमध्ये एक हो र यी नौ दिनमा ठूलो सङ्ख्यामा भक्तहरूले उपवास राख्नका साथै धार्मिक नियमहरू पालना गर्छन्। भक्तहरूको धार्मिक भावनालाई ध्यानमा राखेर प्रशासनले उचित कदम चाल्नुपर्ने उनले बताए।
अशोक गुप्ताले माग गरे, सम्बन्धित अधिकारीहरूले जम्मूमा मासु र मदिरा पसल चलाउनेहरूलाई नवरात्रको समयमा पसलहरू बन्द राख्ने सम्बन्धमा स्पष्ट निर्देशन जारी गरून्। उनले यस अवधिमा मासु एवं रक्सीको अनधिकृत बिक्रीमा प्रतिबन्ध सुनिश्चित गर्ने माग समेत गरे।
नवरात्रको पवित्रता र भक्तहरूको धार्मिक भावनालाई ध्यानमा राख्दै यो माग गरिएको सङ्गठनको भनाइ छ। अशोक गुप्ताले जम्मू प्रशासनलाई यस विषयमा चाँडै निर्णय लिन अपील गरे।
शिवसेना डोगरा फ्रन्टले यदि उनीहरूको मागलाई ध्यान दिइएन भने सङ्गठनले कानूनको दायराभित्र बसेर आफ्नो विरोध प्रदर्शनलाई तीव्र पार्ने बताएको छ।
विरोध प्रदर्शनमा किमती, सुरेश, निर्मल, देविन्दर, लब्बा, आशिष, सुशिल, राम, किशोर, प्रेम, फौजी, भाजो, अशोक र नान्कुसहित सङ्गठनका धेरै जना कार्यकर्ताहरू उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा