जलवायु परिवर्तनसम्बन्धी ‘प्री-सीओपी लिडर्स इभेन्ट’ मा सहभागी हुन विदेशमन्त्री शिशिर खनाल फिजी प्रस्थान
नेपाल के विदेश मंत्री शिशिर खनाल


काठमाडौं, 0४ अक्टोबर (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्री-सीओपी लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी प्रस्थान गरेका छन्। फिजी र तुवालुमा ५ र ६ अक्टोबरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार, खनालले ६ अक्टोबरमा आयोजना हुने लिडर्स प्लेनरीलाई सम्बोधन गर्नेछन्। कार्यक्रमअघि खनाल पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारमाध्यमसँगको प्रश्नोत्तर कार्यक्रममा पनि सहभागी हुनेछन्।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अघि बढाउने उद्देश्यले आयोजना गरिएको यस प्री-सीओपी लिडर्स इभेन्टमा नेपालको सहभागिताबाट जलवायु परिवर्तनका प्रभाव, जलवायु न्याय तथा हिमाली राष्ट्रका हितका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

फिजी र तुवालुमा हुने कार्यक्रममा सहभागी भएपछि विदेशमन्त्री खनाल अस्ट्रेलिया जानेछन्। त्यहाँ ८ अक्टोबरमा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसँग उनको द्विपक्षीय बैठक तय भएको छ।

बैठकमा नेपाल-अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहयोग तथा पारस्परिक हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ। अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास तथा सिड्नीस्थित नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना गरिने कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande