
गान्तोक, 05 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पाल्जोर स्टेडियमस्थित इन्डोर जिम्नेजियम हलमा आयोजित सिक्किम राज्य बास्केटबल च्याम्पियनसिप २०२६ को फाइनल खेलमा सहभागिता जनाएका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत प्रतियोगितामा युवा तथा प्रतिभाशाली बास्केटबल खेलाडीहरूले जोश, अनुशासन र दृढताका साथ प्रतिस्पर्धा गरेको देख्दा आफू प्रेरित भएको बताएका छन्।
उनले यस्ता खेलकुद प्रतियोगिताले युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, आत्मविश्वास बढाउने तथा आफ्ना सपना पूरा गर्ने अवसर प्रदान गर्नुका साथै खेल भावना र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले प्रतियोगितामा सहभागी सबै टोली तथा खेलाडीहरूलाई शुभकामना दिँदै यस च्याम्पियनसिपले अझ धेरै युवा खेलाडीलाई खेलकुदमा लाग्न, उत्कृष्टताका लागि प्रयास गर्न र सिक्किमको नाम अझ उच्च बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल