
रायपुर, १८ नोभेम्बर (हि.स.)। आयकर विभागले छत्तीसगढका पाँच जिल्ला-रायपुर, बिलासपुर, रायगढ, दुर्ग र जाञ्जगीर-चाम्पामा कैयौँ ठूला व्यवसायीहरूको घर तथा कार्यालयमा एकैसाथ छापा मारेको छ। कर छली तथा वित्तीय अनियमिततासम्बन्धी उजुरीका आधारमा मुख्य रूपमा यो कारबाही गरिएको बताइएको छ।
आधिकारिक सूत्रहरूका अनुसार रायपुर, नागपुर र भोपालबाट आएका आयकर विभागका टोलीहरूले स्टिल, कोइला तथा निर्माण व्यवसायसँग सम्बन्धित बर्बरीक समूहका सञ्चालक श्रवण अग्रवाल र अन्य साझेदारहरूको घर तथा कार्यालयमा कागजातहरू खोतलिरहेका छन्। यसका साथै रायगढ इस्पात समूहसँग सम्बन्धित ठेगानाहरूमा पनि जाँच सुरु गरिएको छ। रायपुरको रिङ रोड, शङ्कर नगर र खम्हारडीह क्षेत्रमा समेत छापा मारिएको सूचना छ। चन्दखुरीस्थित बहनाकाडी गाउँको एउटा कारखानामा पनि छापा मारिएको छ। त्यस्तै, तेलीबान्धा रिङ रोड-१ स्थित पीआरए समूहको कार्यालयमा पनि छापा परेको छ। विभागका टोलीहरूले सम्बन्धित कागजात, व्यावसायिक कारोबार तथा वित्तीय अभिलेखहरूको जाँच गरिरहेका छन्। सम्बन्धित व्यवसायीहरूको व्यावसायिक अभिलेख, आयव्ययको विवरण तथा अन्य वित्तीय कागजातहरूको पनि जाँच भइरहेको छ।
यसैबीच, रायगढमा रायगढ इस्पात (कमल अग्रवाल) र सन स्टिलका कार्यालय तथा उद्योगहरूमा र बिलासपुरमा फलाम व्यवसायी जेपी मित्तलसँग सम्बन्धित ठेगानाहरूमा पनि कागजातहरूको जाँच भइरहेको छ। बिहान करिब ५ बजी विभागका विभिन्न टोलीहरू अलग-अलग क्षेत्रमा पुगेका थिए। प्राप्त जानकारीअनुसार, रायगढ इस्पात र बर्बरीक समूह एकअर्कासँग सम्बन्धित छन्।
यसअघि हालै छत्तीसगढका विभिन्न जिल्लामा ईओडब्ल्यू र एसीबीको टोलीले ठूलो कारबाही गरेको थियो। यद्यपि, उक्त छापामारी कोइला लेभी असुली तथा सीएसएमसीएल मदिरा घोटाला प्रकरणसँग सम्बन्धित थियो। टोलीले डेढ दर्जनभन्दा बढी स्थानमा छापा मारेको थियो, जसमा कैयौँ व्यवसायी तथा अधिकारीहरूको घर र कार्यालयमा कागजातहरूको जाँच गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी