
नयाँ दिल्ली, १८ नोभेम्बर (हि.स.)। लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस नेता राहुल गान्धीले कोलम्बिया विश्वविद्यालयमा दिएको बयानप्रति भारतीय जनता पार्टी (भाजपा) ले कड़ा प्रतिक्रिया जनाएको छ। भाजपाले उनको बयानलाई निराधार र झुटो बताउँदै यसले देशलाई लज्जित बनाएको आरोप लगाएको छ।
भाजपा मुख्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता गौरव भाटियाले राहुल गान्धीले कोलम्बिया विश्वविद्यालयमा गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै राहुल गान्धीको अपरिपक्वता कसैबाट लुकेको विषय नरहेको बताए। तर विपक्षी दलका नेता जस्तो संवैधानिक पदमा रहेर विदेशी भूमिमा भारत विरुद्ध विषाक्त बयान दिनु गम्भीर विषय भएको उनले बताए। यस्ता बयानले राहुल गान्धीको भारतविरोधी सोच स्पष्ट हुने उनले आरोप लगाए।
भाजपा प्रवक्ताले राहुल गान्धीको विदेश भ्रमणको समयलाई लिएर पनि प्रश्न उठाए। संसदको अधिवेशन शुरु हुन लाग्दा हरेक पटक राहुल गान्धी विदेश भ्रमणमा जाने गरेको उनले बताए। के उनी आफ्ना विदेशी आका (संरक्षक) हरूबाट मार्गदर्शन लिन विदेश जाने गरेका हुन् भन्ने प्रश्न पनि उनले उठाए। भाटियाले राहुल गान्धीको प्रत्येक विदेश भ्रमण पछाड़ी भारतको सुदृढ़ लोकतान्त्रिक व्यवस्थालाई अस्थिर बनाउने उद्देश्य देखिने आरोप लगाए।
उनले यस्ता बयान दिएर राहुल गान्धीले विदेशी लगानीकर्ता तथा कम्पनीहरूको मनमा भारतप्रति शङ्का उत्पन्न गराउन चाहेको आरोप लगाए। लगानीको विषयमा राहुल गान्धीले उठाएका प्रश्नको जवाफ दिँदै भाटियाले उपलब्ध तथ्याङ्क अनुसार लगानी वृद्धिदर ११.९ प्रतिशत रहेको बताए। यसका बाबजुद राहुल गान्धीले भारतमा निजी लगानी नभएको दाबी गरेर देशको आर्थिक सम्भावनामाथि प्रश्न उठाउने गरेको उनले बताए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पछिल्लो १२ वर्षमा लोकतन्त्रको सुदृढ़ीकरण, अर्थव्यवस्थाको प्रगति, युवा शक्तिको विकास तथा विश्वव्यापी पहिचानका क्षेत्रमा नयाँ उचाइ हासिल गरिरहेको बताए। विश्वले भारतलाई एक सुदृढ़ लोकतन्त्र र तीव्र गतिमा अगाड़ी बढ़िरहेको अर्थव्यवस्थाका रूपमा हेरिरहेको भए पनि राहुल गान्धीले विदेशमा गएर देशका यी उपलब्धिहरूलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको उनले आरोप लगाए।
गौरव भाटियाले एसआईआर (विशेष गहन पुनरीक्षण) को मुद्दालाई लिएर पनि राहुल गान्धी र कांग्रेसमाथि निशाना साधे। राहुल गान्धीले आफ्नो खल्तीमा संविधानको प्रति राख्ने गरे पनि उनलाई संविधानका वास्तविक प्रावधानबारे जानकारी नभएको उनले बताए। उनले निर्वाचन आयोगको संवैधानिक अधिकारसँग सम्बन्धित अनुच्छेद ३२४ र जनप्रतिनिधित्व ऐनको अध्ययन गर्न राहुल गान्धीलाई सुझाव दिए।
भाटियाले एसआईआरलाई लिएर भ्रम फैलाउनुको सट्टा कांग्रेसले सर्वप्रथम आफ्ना नेताहरूका बयानमा एकरूपता ल्याउनुपर्ने बताए। उनले केरलका मुख्यमन्त्री सतीशनले एसआईआरबारे व्यक्त गरेका विचारको उल्लेख गर्दै कांग्रेसभित्रै यस विषयमा विरोधाभास देखिएको बताए। भाजपामाथि आरोप लगाउनुअघि राहुल गान्धीले आफ्नै पार्टीका नेताहरूसँग छलफल गर्नुपर्ने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी