
इटानगर, २१ नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले शुक्रबार राति होलोंगीस्थित डोनी पोलो विमानस्थलमा केन्द्रिय गृह तथा सहकारितामन्त्री अमित शाहलाई स्वागत गरेका छन्। शाह तीनदिने भ्रमणका लागि अरुणाचल प्रदेश पुगेका हुन्।
स्वागत सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री खाण्डुले केन्द्रिय गृहमन्त्रीलाई राज्यमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरेका छन्। उनले शाहको भ्रमणलाई सीमावर्ती राज्यका लागि महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश साझा गर्दै मुख्यमन्त्रीले अरुणाचल प्रदेशको विकास, सुरक्षा तथा प्रगतिसँग सम्बन्धित विषयमा केन्द्रिय गृहमन्त्रीको महत्त्वपूर्ण मार्गदर्शनको अपेक्षा गरिएको बताएका छन्। उनले ‘उदाउँदो सूर्यको भूमि’ मा अमित शाहलाई हार्दिक स्वागत गरेका छन्।
तीनदिने भ्रमणका क्रममा शाह विभिन्न आधिकारिक कार्यक्रममा सहभागी हुनेछन्। यसअन्तर्गत बन्दरदेवास्थित प्रहरी प्रशिक्षण केन्द्र (पीटीसी) मा अरुणाचल प्रदेश पुलिसलाई राष्ट्रपतिको ध्वज प्रदान गर्ने कार्यक्रम रहेको छ। यसका साथै इटानगरमा विकास परियोजना, सहकारिता क्षेत्र तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा समीक्षा बैठकहरू आयोजना हुनेछन्।
यसैगरी, उनले २२ नोभेम्बरमा होलोंगीस्थित राष्ट्रिय आपदा प्रतिकार्य बल (एनडीआरएफ) को परिसरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी