
- वामपन्थी दलहरूको विरोधका कारण सेमिकन्डक्टर कम्पनीहरू भारतबाट फर्किएका थिए : प्रधानमन्त्री
खड्गपुर, २१ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार आईआईटी खड्गपुरको प्लेटिनम जुबली समारोहमा वामपन्थी दलहरूमाथि उद्योगहरूको विकासमा बाधा पुर्याएको आरोप लगाएका छन्। उनले लगभग पाँच दशकअघि भारतमा सेमिकन्डक्टर चिप निर्माण गर्ने कम्पनीहरू आएका भए पनि त्यसबेला रातो झण्डा देखाएर उनीहरूलाई फर्कन बाध्य पारिएको बताए। प्रधानमन्त्रीले विद्यार्थीहरूलाई सीमाभन्दा अगाड़ी बढ़ेर नयाँ लक्ष्य निर्धारण गर्न र ती लक्ष्य हासिल गर्न आह्वान गरे।
आईआईटी खड्गपुरको ७५ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले विशेष स्मारक सिक्काको अनावरण गरे। त्यसपछि उनले ‘विकसित भारतका ७५ स्वर’ पहल अन्तर्गत ७५ जना विद्यार्थीसँग संवाद गरे। यस क्रममा उनले विद्यार्थीहरूको अध्ययन, भविष्यका योजना र देशको विकासमा उनीहरूको भूमिकाबारे छलफल गरे। त्यसपछि आयोजित मुख्य समारोहलाई सम्बोधन गरे।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा आईआईटी खड्गपुरको गौरवशाली इतिहासको उल्लेख गर्दै यस संस्थानमा देशको अतीत, वर्तमान र भविष्य एकसाथ देख्न सकिने बताए। साल २०४७ सम्म विकसित भारतको लक्ष्य हासिल गर्न आईआईटी खड्गपुरका विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहने उनले बताए। आगामी दुई दशक विद्यार्थीहरूको जीवनका लागि अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै उनले ‘राष्ट्र प्रथम’ को सिद्धान्त अपनाएर देशको विकासमा योगदान दिन आग्रह गरे।
प्रधानमन्त्रीले आईआईटी खड्गपुरका विद्यार्थीहरूले स्टार्टअप, अन्तरिक्ष र प्रविधि लगायत विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरिरहेको बताए। सेमिकन्डक्टर उद्योगको उल्लेख गर्दै उनले लगभग पाँच दशकअघि भारतमा चिप निर्माणको सम्भावना रहेको भए पनि तत्कालीन परिस्थिति र विरोधका कारण कम्पनीहरू फर्कन बाध्य भएको बताए। ढिलो गरी शुरुआत गरे पनि आज भारतले चिप निर्यात गरिरहेको उनले बताए।
प्रधानमन्त्रीले कुनै दलको नाम नलिई कांग्रेसमाथि पनि निशाना साधे। उनले लगभग पाँच दशकअघि लालकिल्लाबाट गरीबी हटाउने नारा दिइएको भए पनि गरिबी हटाउन आवश्यक नीतिगत निर्णयहरू नगरिएको बताए। धेरै योजनाहरू सरकारी फाइलमा मात्रै सीमित रहेको उनले बताए। गरीबहरूको जीवनमा परिवर्तन ल्याउने उद्देश्यले शौचालय निर्माण र उज्ज्वला योजना जस्ता धेरै पहलहरू गरिएको उनले बताए।
प्रधानमन्त्रीले देशमा उत्पादन बढ़ाउन र प्राविधिक आत्मनिर्भरतामा जोड दिँदै भारतले चिपदेखि जहाजसम्म हरेक क्षेत्रमा आफ्ना उत्पादनहरू निर्माण गर्ने बताए।
हिन्दुस्थान समाचार / भवानी थामी