
नयाँ दिल्ली, २१ नोभेम्बर (हि.स.)। राष्ट्रिय राजधानी दिल्ली तथा एनसीआर क्षेत्रमा वायु प्रदूषणको स्तर पुनः चिन्ताजनक बन्दै गएको छ। शनिबार बिहान दिल्लीको वायु गुणस्तर ‘खराब’ श्रेणीमा मापन गरिएको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार, शनिबार बिहान ७ बजी दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २७९ रेकर्ड गरिएको छ। राजधानीका विभिन्न क्षेत्रमा भने प्रदूषणको स्तर ३०० नाघेको छ, जहाँ वायु गुणस्तर ‘अत्यन्त खराब’ श्रेणीमा पुगेको छ।
दिल्लीका प्रमुख क्षेत्रमध्ये एम्समा एक्यूआई ३६९ र चाँदनी चोकमा ३६५ मापन गरिएको छ। त्यस्तै, वजिरपुरमा ३३२, आनन्द विहारमा ३२७, आईआईटी दिल्लीमा ३०८ र बवानामा ३०४ रेकर्ड गरिएको छ।
यसैगरी, आरके पुरममा एक्यूआई २७४, आईजीआई विमानस्थल (टी-३) मा २४२, नजफगढमा २३६, नरेलामा २४५ र द्वारका सेक्टर-८ मा २४१ मापन गरिएको छ। यी क्षेत्रमा वायु गुणस्तर ‘खराब’ श्रेणीमा रहेको छ।
दिल्लीसँगै एनसीआरका अन्य शहरहरूमा पनि प्रदूषणबाट राहत मिल्न सकेको छैन। शनिबार गाजियाबादमा एक्यूआई २४४ र नोएडामा २५५ मापन गरिएको छ। ग्रेटर नोएडामा भने १९७ रेकर्ड भएको छ। तर, नोएडाको सेक्टर-६२ मा अवस्था थप गम्भीर देखिएको छ, जहाँ एक्यूआई ३४३ पुगेको छ।
उल्लेखनीय छ, एक्यूआई ० देखि ५० सम्मलाई राम्रो, ५१ देखि १०० सम्मलाई सन्तोषजनक, १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० सम्मलाई खराब, ३०१ देखि ४०० सम्मलाई अत्यन्त खराब र ४०१ देखि ५०० सम्मलाई गम्भीर श्रेणीमा वर्गीकरण गरिन्छ।
दिल्ली-एनसीआरमा प्रदूषण नियन्त्रणका लागि क्रमिक प्रतिक्रिया कार्ययोजना (ग्रेप) को पहिलो र दोस्रो चरणका प्रतिबन्धहरू लागू छन्। यसअघि १७ नोभेम्बरमा वायु गुणस्तरमा अस्थायी सुधार आएपछि वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले तेस्रो चरणका प्रतिबन्ध हटाएको थियो। त्यसपछि विद्यालयका सबै कक्षामा भौतिक उपस्थितिमै पठनपाठन पुनः शुरु गरिएको थियो।
मौसममा परिवर्तन र हावाको गति सुस्त भएका कारण आगामी दिनमा प्रदूषणको स्तर अझ बढ्न सक्ने आशङ्का गरिएको छ। विशेषज्ञहरूका अनुसार, हावाको गति बढ्दा प्रदूषक तत्त्वहरू फैलिन मद्दत पुग्न सक्छ। तर, चिसो बढ्दै जाँदा हावाको गति घटेमा दिल्ली-एनसीआरमा धुवाँ र प्रदूषणको समस्या थप गम्भीर हुन सक्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी