

उज्जैन, २१ नोभेम्बर (हि.स.)। मध्यप्रदेशको धार्मिक नगरी उज्जैनमा महाकवि कालिदासको साहित्यिक तथा सांस्कृतिक विरासतलाई समर्पित सातदिने ६८औँ अखिल भारतीय कालिदास समारोह शनिबारदेखि शुरु हुँदैछ। केन्द्रिय संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत र मुख्यमन्त्री डा. मोहन यादवको उपस्थितिमा साँझ ६ बजी कालिदास संस्कृत अकादमीस्थित पण्डित सूर्यनारायण व्यास सङ्कुल सभागृहमा समारोहको उद्घाटन गरिनेछ।
समारोहका अवसरमा प्रतिष्ठित राष्ट्रिय कालिदास सम्मान (रङ्गकर्म) वर्ष २०२६ बाट चर्चित रङ्गकर्मी वाणी त्रिपाठी टिक्कूलाई सम्मानित गरिनेछ। आगामी २७ नोभेम्बरसम्म कालिदास संस्कृत अकादमी परिसरमा सञ्चालन हुने समारोहमा देशभरका साहित्यकार, संस्कृतका विद्वान्, रङ्गकर्मी तथा कलाकारहरूले विभिन्न प्रस्तुति दिनेछन्।
सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा महाकवि कालिदासको साहित्य, संस्कृत भाषा तथा भारतीय सांस्कृतिक परम्परामा केन्द्रित विभिन्न गतिविधि समावेश गरिएका छन्। राष्ट्रिय शोध गोष्ठी, स्मृति व्याख्यान, संस्कृत नाटक, कविता वाचन, वादविवाद तथा शास्त्रीय सङ्गीतका प्रस्तुतिहरू मुख्य आकर्षण रहनेछन्।
कार्यक्रमअनुसार, २२ नोभेम्बरमा पण्डित सूर्यनारायण व्यास स्मृति व्याख्यान, २३ नोभेम्बरमा महाकवि कालिदास स्मृति व्याख्यान र २४ नोभेम्बरमा पद्मश्री वाकणकर स्मृति व्याख्यान आयोजना हुनेछ। त्यस्तै, २५ नोभेम्बरमा संस्कृत कवि सम्मेलन तथा हिन्दी नाटक प्रस्तुत गरिनेछ। २६ नोभेम्बरमा सन्त समागमलगायतका कार्यक्रम हुनेछन्। २७ नोभेम्बरमा सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरणसँगै समारोह समापन हुनेछ।
यसपटकको समारोहमा अखिल भारतीय नृत्य नाटिका प्रतियोगिता पनि विशेष आकर्षण रहनेछ। २६ नोभेम्बरमा आयोजना हुने प्रतियोगितामा विभिन्न राज्यका नृत्य टोलीहरूले सहभागिता जनाउनेछन्। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई क्रमशः पाँच लाख, तीन लाख र एक लाख रुपियाँको प्रथम, द्वितीय तथा तृतीय पुरस्कार प्रदान गरिनेछ।
संस्कृति संचालक एनपी नामदेवले संस्कृति विभागको तत्वावधानमा कालिदास संस्कृत अकादमी र सम्राट विक्रमादित्य विश्वविद्यालयको संयुक्त आयोजनामा हुन लागेको समारोहको उद्घाटनका अवसरमा रङ्गकर्मी वाणी त्रिपाठी टिक्कूलाई राष्ट्रिय कालिदास सम्मान प्रदान गरिने जानकारी दिएका छन्।
नामदेवका अनुसार, रङ्गमञ्चको क्षेत्रमा उत्कृष्टता र उल्लेखनीय योगदानको कदरस्वरूप १९८२ देखि कालिदास सम्मान प्रदान गरिँदै आएको छ। असाधारण सिर्जनात्मकता, उत्कृष्टता तथा दीर्घकालीन कलासाधनाका आधारमा प्रदान गरिने यस सम्मानबाट हालसम्म ३७ जना विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन्। सम्मानस्वरूप पाँच लाख रुपियाँ, प्रशस्तिपत्र, शाल तथा श्रीफल प्रदान गरिन्छ।
भारतीय रङ्गमञ्चकी प्रतिष्ठित व्यक्तित्व वाणी त्रिपाठी टिक्कू अभिनय, रङ्गमञ्चीय प्रशिक्षण, नाट्य शिक्षा, चलचित्र तथा साहित्यका क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल बहुआयामिक कलाकार हुन्।
शैक्षिक अध्ययनसँगै रङ्गमञ्चप्रतिको उनको रुचि निरन्तर विकसित हुँदै गएको थियो। उनले लिभिङ थिएटर एकेडेमी अफ ड्रामाबाट रङ्गकर्मको प्रशिक्षण प्राप्त गरेकी छन्। साथै, भारतीय रङ्गमञ्चका प्रख्यात निर्देशक तथा गुरु इब्राहिम अल्काजीको मार्गदर्शनमा अभिनयका विभिन्न पक्षबारे ज्ञान हासिल गरेकी छन्।
रङ्गमञ्चप्रतिको उनको रुचि विकासमा ब्यारी जोन, माया राव, बीभी कारन्त र त्रिपुरारी शर्माजस्ता प्रतिष्ठित रङ्गकर्मीहरूको महत्त्वपूर्ण योगदान रहेको छ। एन्टोन चेखभ, पिटर शेफर, आर्थर मिलर तथा टेनेसी विलियम्सजस्ता विश्वप्रसिद्ध नाटककारका कृतिमा आधारित नाट्य प्रस्तुतिहरूमा उनको अभिनयले रङ्गमञ्चप्रतिको गहिरो समझ र कलात्मक विविधतालाई प्रतिबिम्बित गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी