
नयाँ दिल्ली, २१ नोभेम्बर (हि.स.)। भारत सरकारले शाङ्घाई सहयोग सङ्गठन (एसईओ) को बैठकमा सहभागी हुन भारत आएका पाकिस्तानका जलवायु परिवर्तन मन्त्री मुसादिक मलिकको आगरा स्थित ताजमहल अवलोकन गर्ने अनुरोध अस्वीकार गरेको छैन। यद्यपि, सुरक्षा कारणले उनलाई दिल्ली स्थित हजरत निजामुद्दीन दरगाह जान अनुमति दिइएको छैन।
सरकारी स्रोतहरूले शनिवार यहाँ यसबारे जानकारी दिएका हुन्। भारतीय पक्षले पाकिस्तानी मन्त्रीलाई ताजमहल अवलोकन गर्न अनुमति दिन अस्वीकार गरेको भन्ने समाचारहरूलाई खारेज गर्दै स्रोतहरूले वास्तविक स्थिति स्पष्ट पारेका छन्। स्रोतहरूले भने, “ताजमहल भ्रमणका लागि अनुमति अस्वीकार गरिएको छैन।”
दिल्लीमा पाकिस्तानी प्रतिनिधिमण्डलको कार्यक्रमबारे जानकारी दिँदै सरकारी स्रोतहरूले प्रतिनिधिमण्डलले राजधानीका ती प्रमुख स्थलहरूको भ्रमण गर्ने बताए, जसका लागि सुरक्षा निकायबाट स्वीकृति प्राप्त भइसकेको छ। यी स्थलहरूमा ऐतिहासिक हुमायूँको मकबरा र दिल्ली हाट पनि समावेश छन्।
स्रोतहरूले सुरक्षा कारणले हजरत निजामुद्दीन दरगाह भ्रमणलाई स्वीकृति नदिइएको स्पष्ट पारेका छन्।
उल्लेखनीय छ, पाकिस्तानका जलवायु परिवर्तन मन्त्री मुसादिक मलिक एक प्रतिनिधिमण्डल सहित एसईओ सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका छन्।
/ बिशाल