आमाको अन्तिम यात्रामा सहभागी भए मुख्यमन्त्री योगी आदित्यनाथ, पार्थिव शरीर पञ्चुरबाट हरिद्वार प्रस्थान
उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ पंचूर गांव से अपनी दिवंगत माता सावित्री देवी की पार्थिव  शरीर  को कंधा देते हुए।


यमकेश्वर (पौडी गढवाल), २१ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबार बिहान आफ्नी दिवङ्गत आमा सावित्री देवीको अन्तिम यात्रामा सहभागी हुँदै पार्थिव शरीरसँगै हरिद्वारका लागि प्रस्थान गरेका छन्। पौडी गढवाल जिल्लाको यमकेश्वर ब्लकस्थित उनको पैतृक गाउँ पञ्चुरबाट बिहान ८ बजेर ५७ मिनेटमा अन्तिम यात्रा शुरु भएको थियो। मुख्यमन्त्री योगी आमाको पार्थिव शरीरसँगै लक्ष्मण झुला-काण्डी सडकमार्ग हुँदै हरिद्वारतर्फ प्रस्थान गरेका हुन्। हरिद्वारमा सावित्री देवीको अन्तिम संस्कार गरिनेछ।

आमाको निधनपछि मुख्यमन्त्री योगीले सामाजिक सञ्जालमार्फत संस्कृत श्लोक साझा गर्दै मातृशक्तिप्रति आफ्नो श्रद्धा र भावना व्यक्त गरेका छन्। उनले लेखेका छन्, 'नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः। नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रिया॥' यस श्लोकमार्फत उनले आमाप्रतिको गहिरो प्रेम, सम्मान र श्रद्धा प्रकट गरेका छन्।

सावित्री देवीको शुक्रबार बिहान करिब ११ बजी पञ्चुर गाउँमा निधन भएको थियो। उनको निधनको खबरपछि परिवार, आफन्त, स्थानीय बासिन्दा तथा शुभचिन्तकहरूमा शोक छाएको छ। आमाको अन्तिम दर्शन तथा श्रद्धाञ्जली अर्पण गर्न मुख्यमन्त्री योगी पनि पैतृक गाउँ पुगेका थिए।

शनिबार परम्परागत रीतिरीवाजअनुसार शुरु भएको अन्तिम यात्रामा मुख्यमन्त्री योगी आमाको पार्थिव शरीरसँगै सहभागी भएका हुन्। सावित्री देवीको निधनप्रति उत्तराखण्ड र उत्तर प्रदेशका विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

/ बिशाल


 rajesh pande