
बाराबंकी, २१ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित पूर्वाञ्चल एक्सप्रेसवेमा शनिबार बिहान भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सुबेहा थाना क्षेत्रअन्तर्गत किलोमिटर ५३.३ नजिक तीव्र गतिमा रहेको एम्बुलेन्सले सडक किनारमा रोकिराखेको पिकअपलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा एम्बुलेन्समा सवार पाँच जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई हैदरगढ सामुदायिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्करबाट एम्बुलेन्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पुलिस र उत्तर प्रदेश एक्सप्रेसवे औद्योगिक विकास प्राधिकरण (यूपीडा) को टोलीले उद्धार गरी घाइतेहरूलाई अस्पताल पुर्याए।
पुलिसका अनुसार, एम्बुलेन्समा बिहारको समस्तीपुर निवासी अशोक शर्माको शव राखिएको थियो। उनका परिवारका सदस्यहरू अन्तिम संस्कारका लागि शव लिएर गाउँ जाँदै थिए। दुर्घटनामा अशोक शर्माका छोरा राजकुमार शर्मा उर्फ सतीश शर्मा, रवि शर्मा, फूलो शर्मा तथा एम्बुलेन्सका चालक सरफराज र आबिदको मृत्यु भएको जनाइएको छ।
घटनापछि अतिरिक्त पुलिस अधीक्षक विवेक तिवारीसहित पुलिस अधिकारीहरू घटनास्थल पुगेका थिए। दुर्घटनाको कारणबारे जॉंच भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पुलिसले जनाएको छ।
मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर उद्धार तथा राहत कार्य तीव्र बनाउन र मृतकका परिवारसँग सम्पर्क गरी आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
पुलिसले मृतकको शव पोस्टमार्टमका लागि पठाएर थप कानुनी प्रक्रिया शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी