
मुम्बई, २३ नोभेम्बर (हि.स.)। नितेश तिवारीको निर्देशनमा निर्माण भएको चलचित्र ‘रामायण’ आफ्नो भव्य निर्माण र कलाकारहरूका साथै सङ्गीतका कारण पनि चर्चामा रहेको छ। चलचित्रको सङ्गीत तयार पार्ने जिम्मेवारी ओस्कार विजेता सङ्गीतकार एआर रहमान र हान्स जिमरलाई सुम्पिएको छ।
रहमानले हालै एक कुराकानीका क्रममा ‘रामायण’ को सङ्गीतमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न आफूले करिब १० देखि १२ वटा चलचित्रमा सङ्गीत तयार पार्ने प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन्। यस परियोजनामा आफ्नो सम्पूर्ण समय र सिर्जनात्मक ऊर्जा लगाउन चाहेको उनले बताएका छन्।
रहमानका अनुसार, उनी विगत तीन वर्षदेखि चलचित्रको सङ्गीत, मुख्य धुन तथा अन्य सङ्गीत रचनाहरूमा काम गरिरहेका छन्। यस अवधिमा विभिन्न सङ्गीत रचनाका १२ देखि १३ वटा फरक संस्करण तयार पारिएका छन्। उनले ‘रावण ताण्डव’ को धुनमा पनि पटकपटक काम गरिएको र अन्त्यमा सबैलाई मन परेको संस्करण तयार भएको बताए। रहमानका अनुसार, यो सम्पूर्ण प्रक्रिया उनका लागि अत्यन्त सुन्दर अनुभव रहेको छ।
धेरै ठूला चलचित्र निर्माताहरूसँग काम गर्ने प्रस्ताव अस्वीकार गरे पनि आफ्नो निर्णयप्रति गर्व लागेको उनले बताएका छन्। आफूले कुनै पनि परियोजना त्यतिबेला मात्र स्वीकार गर्ने गरेको उनको भनाइ छ, जब त्यो आफ्नो सिर्जनात्मक सोचसँग मेल खान्छ।
‘रामायण: भाग १’ को सङ्गीत एल्बममा ‘जय जय राम’, ‘रावण ताण्डव’ र ‘सीताज एस्पिरेसन’ जस्ता गीतहरू समावेश छन्। ‘जय जय राम’ गीतमा अरिजित सिंह र श्रेया घोषालले स्वर दिएका छन् भने ‘रावण ताण्डव’ विशाल ददलानीले गाएका छन्। ‘सीताज एस्पिरेसन’ मा एआर अमिन, वैशाली सामन्त, रक्षित सुरेश र अन्तरा नन्दीका स्वर सुन्न सकिन्छ। गीतहरूका शब्द कवि कुमार विश्वासले लेखेका हुन्।
यस एल्बममा ‘जय जय राम’ को अर्केस्ट्रल संस्करण तथा ‘राम थीम’ पनि समावेश गरिएको छ। उक्त ‘राम थीम’ एआर रहमान र हान्स जिमरले संयुक्त रूपमा तयार पारेका हुन्।
हिन्दुस्थान समाचार / बिशाल