(मन्त्रिमण्डल) निर्माण तथा पूर्वाधार उपकरण उत्पादनका लागि प्रोत्साहन योजना ल्यायो सरकारले
विनिर्माण सामग्री (प्रतिनिधि चित्र)


नयाँ दिल्ली, २५ नोभेम्बर (हि.स.)। केन्द्र सरकारले निर्माण तथा पूर्वाधार उपकरण उत्पादनको क्षेत्रमा आत्मनिर्भरता र विश्वव्यापी प्रतिस्पर्धालाई प्रोत्साहन गर्न ११ हजार करोड़ रुपियाँको प्रोत्साहन योजना ल्याएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधवार बसेको केन्द्रिय मन्त्रिमण्डलको बैठकले निर्माण तथा पूर्वाधार उपकरण (सीआईई) उत्पादन पारिस्थितिक प्रणाली योजनालाई स्वीकृति दिएको छ। मन्त्रिमण्डलका निर्णयबारे केन्द्रिय मन्त्री अश्विनी वैष्णवले राष्ट्रिय मीडिया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनले यस योजनाको उद्देश्य सीआईई र यसका पुर्जाहरूको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु रहेको बताए। यस योजनाको अवधि ८ वर्ष (आर्थिक वर्ष २०२६-२७ देखि २०३३-३४ सम्म) हुनेछ। योजनाका दुई वटा घटक छन्। पहिलो बिक्रीमा आधारित प्रोत्साहन र दोस्रो सीआईई परीक्षण सुविधा हो।

बिक्रीमा आधारित प्रोत्साहन अन्तर्गत योग्य मूल उपकरण निर्माता (ओईएम) तथा पुर्जा उत्पादकहरूलाई पाँच वर्षको अवधिमा हुने अतिरिक्त बिक्रीमा १३ देखि ८ प्रतिशतसम्म श्रेणीबद्ध प्रोत्साहन प्रदान गरिनेछ। त्यस्तै, परीक्षण सुविधा अन्तर्गत समर्पित परीक्षण सुविधा स्थापना गर्न ३७५ करोड़ रुपियाँसम्म अनुदान प्रदान गरिनेछ।

उनले विश्वस्तरमा प्रतिस्पर्धी सीआईई पारिस्थितिक प्रणाली निर्माण गर्दा स्वदेशी उत्पादन क्षमतामा मजबुती आउने बताए। यसबाट आपूर्ति शृङ्खलाको सुरक्षा थप सुदृढ़ हुनुका साथै रोजगारीका अवसरहरू बढ्नेछन्। साथै, विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता पनि वृद्धि हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande