आयभन्दा बढी सम्पत्ति मामिलामा राहुल गान्धीलाई उच्चतम अदालतबाट राहत, उच्च अदालतको आदेश खारेज
सुप्रीम कोर्ट फाइल फोटो


नयाँ दिल्ली, २५ नोभेम्बर (हि.स.)। उच्चतम अदालतले कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई आयभन्दा बढी सम्पत्ति भएको आरोपसम्बन्धी मुद्दामा राहत दिएको छ। मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको तीन सदस्यीय बेन्चले इलाहाबाद उच्च अदालतका यसअघिका आदेशहरू खारेज गर्दै मुद्दालाई पुनः सुनुवाइका लागि उच्च अदालतमा फिर्ता पठाएको छ।

राहुल गान्धीले इलाहाबाद उच्च अदालतले आफ्नो सम्पत्तिसम्बन्धी आरोपमा केन्द्रिय अन्वेषण ब्युरो (सीबीआई) र प्रवर्तन निर्देशनालय (ईडी) लाई छानबिन गर्न दिएको निर्देशनविरुद्ध उच्चतम अदालतमा याचिका दायर गरेका थिए। उनले उक्त मुद्दा दिल्ली उच्च अदालतमा स्थानान्तरण गर्नसमेत माग गरेका थिए।

गत मई महिनामा इलाहाबाद उच्च अदालतले राहुल गान्धीविरुद्ध लगाइएको आरोपको पुष्टि गर्न सीबीआई र ईडीलाई निर्देशन दिएको थियो। कर्नाटकका भाजपा कार्यकर्ता एस. विग्नेश शिशिरले गान्धीको सम्पत्ति ज्ञात आयस्रोतभन्दा बढी रहेको आरोप लगाउँदै उच्च अदालतमा याचिका दायर गरेका थिए।

यसै मुद्दामा जुलाई महिनामा उच्च अदालतले सीबीआईले पेस गरेको शपथपत्रप्रति असन्तुष्टि व्यक्त गर्दै जॉंचको प्रगतिबारे विस्तृत विवरणसहित नयाँ शपथपत्र पेस गर्न निर्देशन दिएको थियो।

उच्चतम अदालतले अब राहुल गान्धीलाई पक्षकार बनाएर उनको भनाइसमेत सुनेपछि मुद्दाको पुनः सुनुवाइ गर्न इलाहाबाद उच्च अदालतलाई निर्देशन दिएको छ। साथै, याचिकाको सुनुवाइयोग्यता लगायत सबै विषयमा दुवै पक्षलाई आफ्नो तर्क राख्ने अवसर दिनुपर्ने जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande