

पणजी, २५ नोभेम्बर (हि.स.)। गोवामा आयोजित ५७औँ भारत अन्तरराष्ट्रिय चलचित्र महोत्सव (इफ्फी) मा बुधबार पाञ्चजन्यद्वारा निर्मित वृत्तचित्र ‘अमिट अटल’ प्रदर्शन गरिएको छ। भारत रत्न तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको जीवन, व्यक्तित्व र योगदानमा आधारित यस वृत्तचित्रको निर्देशन पाञ्चजन्यका सम्पादक हितेश शंकरले गरेका हुन्।
वृत्तचित्रमा वाजपेयीको स्वयंसेवक, प्रचारक, कवि, पत्रकार, सम्पादक हुँदै प्रधानमन्त्रीसम्मको यात्राका विभिन्न पक्ष प्रस्तुत गरिएको छ। ऐतिहासिक घटनाक्रम तथा उनीसँग काम गरेका व्यक्तिहरूका संस्मरणमार्फत उनको जीवनका कम चर्चित पक्षलाई उजागर गर्ने प्रयास गरिएको छ।
निर्देशक हितेश शंकरका अनुसार, पाञ्चजन्यका पहिलो सम्पादक रहेका वाजपेयीको बाल्यकालदेखि प्रधानमन्त्री बन्नेसम्मको यात्रालाई उनका सहकर्मीहरूको स्मृतिका आधारमा प्रस्तुत गरिएको छ। राजनीतिक मतभेद हुँदाहुँदै पनि संवाद कायम राख्ने र आफ्ना सिद्धान्तमा अडिग रहने उनको विशेषतालाई वृत्तचित्रमा प्राथमिकता दिइएको उनले बताए।
वृत्तचित्रका निर्माता सञ्जय जौहरीले आफ्नो पहिलो चलचित्रका लागि वाजपेयीको जीवन छनोट गर्नुको उद्देश्य राष्ट्रवादसम्बन्धी महत्त्वपूर्ण बहसलाई अगाडि बढाउनु रहेको बताए। देशको भविष्यबारे फरक विचार राख्ने व्यक्तिहरूले पनि राष्ट्रप्रतिको जिम्मेवारी कसरी निर्वाह गर्न सक्छन् भन्ने प्रश्नलाई चलचित्रले उठाएको उनको भनाइ छ।
यसअघि पाञ्चजन्यको अर्को वृत्तचित्र ‘विभाजनकी विभीषिका: अनकही कहानियाँ’ पनि इफ्फीमा प्रदर्शन भइसकेको छ। २०२२ मा भारतीय पानोरमाको गैरकथात्मक चलचित्र विधामा छनोट भएको उक्त ३० मिनेट लामो हिन्दी वृत्तचित्र १९४७ को भारत विभाजनको त्रासदी तथा विस्थापितहरूको अनुभवमा आधारित छ। यसको निर्देशन पनि हितेश शंकरले नै गरेका थिए।
१९५२ मा स्थापना भएको इफ्फी एसियाका पुराना अन्तरराष्ट्रिय चलचित्र महोत्सवमध्ये एक हो। केन्द्रिय सूचना तथा प्रसारण मन्त्रालयले गोवा सरकार र इन्टरटेनमेन्ट सोसाइटी अफ गोवाको सहकार्यमा आयोजना गर्ने यस महोत्सवमा भारतीय तथा अन्तरराष्ट्रिय चलचित्र प्रदर्शन गरिन्छ।
यस वर्षको महोत्सवमा स्पेनलाई सम्मानित देश तथा रुसलाई साझेदार देशका रूपमा समावेश गरिएको छ। स्पेनका चार चलचित्र तथा रुसका चार चलचित्र विशेष रूपमा प्रदर्शन भइरहेका छन्। यसमार्फत दुवै देशको चलचित्र निर्माण, सांस्कृतिक विविधता तथा भारतसँगको सांस्कृतिक सम्बन्धलाई प्रस्तुत गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल