
नयाँ दिल्ली, २५ नोभेम्बर (हि.स.)। मतदाता सूचीमा कथित अनियमितता तथा मताधिकारबाट वञ्चित गरिएको आरोपलाई लिएर कांग्रेसले २६ नोभेम्बर संविधान दिवसका अवसरमा देशभरि ‘संविधान रक्षा मार्च’ आयोजना गर्ने घोषणा गरेको छ।
पार्टीका महासचिव (संगठन) केसी वेणुगोपालले मंगलवार जारी गरेको विज्ञप्तिमा सबै प्रदेश कांग्रेस समितिले आ–आफ्नो राज्यमा बृहत् स्तरमा मार्च आयोजना गर्ने बताए। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे लखनऊमा आयोजित मार्चमा सहभागी हुनेछन्। पार्टीले विद्यार्थी, युवा, किसान, श्रमिक, महिला, दलित, आदिवासी, अन्य पछौटे वर्ग, अल्पसंख्यक समुदाय तथा नागरिक समाजका सदस्यहरूलाई मार्चमा सहभागी हुन अपील गरेको छ।
वेणुगोपालले लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले देश सामू मत चोरीका दस्तावेजी प्रमाण प्रस्तुत गरेको बताए। उनले कर्नाटकको महादेवपुरामा नक्कली तथा दोहोरो प्रविष्टि, आलन्दमा हजारौँ वास्तविक मतदाताको नाम हटाउने सुनियोजित प्रयास तथा हरियाणा र अन्य राज्यमा भएका गम्भीर अनियमितताहरूको उल्लेख गरे। यी घटनाहरूले मतदाता सूचीमा व्यापक हेरफेर भएको सङ्केत गर्ने उनको भनाइ छ। उनले निष्पक्ष छानबिन गराउनुको सट्टा निर्वाचन आयोगले यी निष्कर्षहरू अस्वीकार गरेको आरोप लगाए। साथै, विपक्षी दलका नेतासँग शपथपत्र मागेको र अनुसन्धान निकायहरूले मागेको जानकारी समेत साझा नगरेको उनले बताए।
कांग्रेस महासचिवले बिहार विधानसभा चुनाउ हुनुभन्दा केही महिनाअघि निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया शुरु गरेको बताए। दोस्रो चरणमा यो प्रक्रिया १२ राज्य तथा केन्द्रशासित प्रदेशमा र तेस्रो चरणमा १६ राज्य तथा तीन केन्द्रशासित प्रदेशमा विस्तार भएको छ। मतदाता सूची शुद्धीकरण गर्ने घोषित उद्देश्य भए पनि यस प्रक्रियाले नागरिकहरूलाई आफ्नो मतदाता बन्ने योग्यता प्रमाणित गर्न बाध्य बनाइरहेको उनले बताए।
वेणुगोपालले बिहारको प्रारम्भिक मतदाता सूचीबाटै ६५ लाखभन्दा बढ़ी नाम हटाइएको र तीनवटै चरणमा हटाइने नामको सङ्ख्या १३ करोड़भन्दा बढ़ी पुग्ने अनुमान रहेको दाबी गरे। उनी अनुसार, यस प्रक्रियाबाट गरीब, दलित, आदिवासी, अल्पसंख्यक, प्रवासी श्रमिक तथा विवाहपछि घर परिवर्तन गर्ने महिलाहरू सबैभन्दा बढ़ी प्रभावित हुने जोखिम छ। यी त्यस्ता वर्ग हुन्, जसको अधिकार सुनिश्चित गर्न डा. भीमराव आंबेडकर र महात्मा गान्धीले सङ्घर्ष गरेका थिए। वेणुगोपालले निर्वाचन आयोगको स्वतन्त्रतामाथि प्रश्न उठाउँदै आयोगको वर्तमान अवस्था सम्झौताग्रस्त रहेको आरोप समेत लगाए।
वेणुगोपालले ‘संविधान रक्षा मार्च’ को शुरुआत डा. भीमराव आंबेडकर वा महात्मा गान्धीको सालिकबाट गरिने जानकारी दिए। सालिकमा श्रद्धाञ्जली अर्पण गरेपछि कांग्रेस कार्यकर्ता तथा नागरिकहरूले संविधानको प्रस्तावना सामूहिक रूपमा वाचन गर्नेछन्। त्यसपछि संविधानको रक्षाका लागि शपथ लिइनेछ। मार्च मार्फत न्याय, स्वतन्त्रता, समानता र बन्धुत्वका संवैधानिक मूल्यप्रतिको प्रतिबद्धता पुनः दोहोर्याइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी