
जम्मू, २५ नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरका पुलिस महानिदे शशक (डीजीपी) नलिन प्रभातले रियासी जिल्लामा पाँच जना आतङ्कवादीको २८ कनाल १४.५ मरला जमीन जफत गर्न स्वीकृति दिएका छन्। अनुसन्धानका क्रममा यी आतङ्कवादीहरूले आफ्नो सम्पत्ति बिक्री गरेर आतङ्कवादी गतिविधिका लागि आर्थिक स्रोत जुटाउने प्रयास गरिरहेको खुलासा भएको छ।
आदेश अनुसार यो स्वीकृति ‘गैरकानूनी गतिविधि (रोकथाम) अधिनियम’ को धारा २५ अन्तर्गत दिइएको हो। यो मामिला महोर पुलिस थानामा दर्ता भएको एफआईआर नम्बर ७०/२०२४ सँग सम्बन्धित छ।
आदेशअनुसार शाडोल, तहसील महोर निवासी गुलाम मोहम्मदका छोरा मोहम्मद कय्यूम उर्फ अब्दुल कय्यूम, बद्दर निवासी कमर दीनका छोरा बशीर अहमद उर्फ मासूम, हुन्डर, तहसील अरनास निवासी रोशन दीनका छोरा शौकत अली, खन्ती, तहसील थुरू निवासी मोहम्मद दीनका छोरा मञ्जुर अहमद उर्फ मञ्जुर हुसैन तथा थुरू, तहसील थुरू निवासी मोहम्मद मकबूलका छोरा इम्तियाज अहमद हतियार तथा गोलाबारुदको तालिम लिन पाकिस्तान गएका थिए। उनीहरू सीमापारीबाट यस क्षेत्रमा आतङ्कवादी गतिविधि पुनः सक्रिय बनाउने प्रयासमा संलग्न रहेको आरोप छ।
अनुसन्धानका क्रममा आरोपीहरूले आफ्नो जमीन बिक्री गर्ने प्रयास गरिरहेको र त्यसबाट प्राप्त रकम आतङ्कवादी गतिविधिलाई प्रोत्साहन गर्न प्रयोग गर्ने योजना बनाएको खुलासा भएको छ। जफत गरिने सम्पत्तिमा शाडोलमा मोहम्मद कय्यूमको २ कनाल ७.५ मरला, बद्दरमा बशीर अहमदको ३ कनाल ८ मरला, हुन्डरमा शौकत अलीको ३ कनाल १० मरला, खन्तीमा मञ्जुर अहमदको १५ कनाल १९ मरला तथा थुरूमा इम्तियाज अहमदको ३ कनाल १० मरला जमीन समावेश छन्।
आदेशमा उल्लेख गरिएअनुसार यी व्यक्तिहरू हिजबुल मुजाहिदीनका लागि काम गरिरहेका थिए। उनीहरूले सङ्गठनलाई हतियार, गोलाबारुद तथा आर्थिक सहयोग उपलब्ध गराउँथे। साथै, स्थानीय युवाहरूलाई कट्टरपन्थी बनाएर आतङ्कवादी गतिविधिमा संलग्न गराउने प्रयास समेत गर्ने गरेको आरोप छ।
/ बिशाल