
नयाँ दिल्ली, २५ नोभेम्बर (हि.स.)। भारतको आतिथ्यमा हिन्द महासागर क्षेत्रीय सहयोग सङ्गठन (आईओआरए) को २५औँ मन्त्रिपरिषद् बैठक २७ नोभेम्बरमा दिल्ली स्थित भारत मण्डपममा आयोजना हुने भएको छ। विदेशमन्त्री एस. जयशंकरले बैठकको अध्यक्षता गर्नेछन्। यसमा सङ्गठनका सदस्य राष्ट्रका विदेशमन्त्री तथा वरिष्ठ प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।
बैठकअघि २५ र २६ नोभेम्बरमा आईओआरएको वरिष्ठ अधिकारीहरूको समिति (सीएसओ) को २९औँ बैठक आयोजना भइरहेको छ। यसमा सङ्गठनका कार्यक्रमहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै सदस्य राष्ट्रहरूबीच समन्वयसँग सम्बन्धित विषयमा छलफल गरिनेछ।
माल्दिवकी विदेशमन्त्री इरुथिशम आदम बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगिसकेकी छन्। यस बाहेक मलेसिया, सोमालिया, सिङ्गापुर, मरिसस, सेसेल्स, संयुक्त अरब इमिरेट्स, श्रीलङ्का, अस्ट्रेलिया र इन्डोनेसियाका वरिष्ठ प्रतिनिधिहरू पनि बैठकमा सहभागी हुने कार्यक्रम छ।
विदेश मन्त्रालय अनुसार, मलेसियाका उपमहासचिव दातो डा. अहमद फैसल मुहम्मद २५ नोभेम्बरको राति दिल्ली पुग्नेछन्। सोमालियाका विदेश तथा अन्तरराष्ट्रिय सहयोग राज्यमन्त्री अली मोहम्मद उमर, सिङ्गापुरका विदेश तथा राष्ट्रिय विकास राज्यमन्त्री डेरिल यामिन र मरिससका विदेश मामिला, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री धनञ्जय रामफुल २६ नोभेम्बरमा पुग्नेछन्।
त्यसै दिन सेसेल्सका विदेश तथा प्रवासी मामिला मन्त्री ब्यारी फोरे, संयुक्त अरब इमिरेट्सका मन्त्री अनवर अनलान, श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री एचएम विजिता हेराथ, अस्ट्रेलियाका हिन्द महासागर मामिलाका विशेष दूत टिम वाट्स र इन्डोनेसियाका उपविदेशमन्त्री अरिफ हवास ओएग्रोसेनो पनि नयाँ दिल्ली पुग्ने कार्यक्रम छ।
आईओआरएको मन्त्रिपरिषद् सङ्गठनको सर्वोच्च निर्णय गर्ने निकाय हो। यसमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरू सहभागी हुन्छन्। यसले सङ्गठनको नीतिगत दिशा र रणनीतिक प्राथमिकता निर्धारण गर्नुका साथै सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोगको समीक्षा गर्दछ।
बैठकमा हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षा, व्यापार, सम्पर्क सञ्जाल, आर्थिक सहयोग तथा क्षेत्रीय स्थिरतासँग सम्बन्धित विषयमा छलफल हुने सम्भावना छ। यसका साथै क्षेत्रका साझा हित तथा चुनौतीहरूको सामना गर्न सहयोग अभिवृद्धि गर्ने उपायहरूबारे पनि विचार-विमर्श गरिनेछ।
उल्लेखनीय छ, आईओआरए हिन्द महासागर क्षेत्रका राष्ट्रहरूबीच आर्थिक सहयोग, समुद्री सुरक्षा, व्यापार तथा क्षेत्रीय सम्पर्कलाई सुदृढ़ बनाउन काम गर्ने सङ्गठन हो।
/ बिशाल