बीजापुरमा नक्सली डम्पबाट ड्रोन र वायरलेस सेट जफत, सुरक्षा बलमाथि निगरानी गर्थे नक्सलीहरू
बीजापुर नक्सली डंप से मिले ड्रोन एवं वायरलेस नेटवर्क से सुरक्षा बलों पर नजर रखते थे नक्सली


बीजापुर, २५ नोभेम्बर (हि.स.)। छत्तीसगढ़को बीजापुर जिल्लामा बुधवार पामेड़ पुलिस थाना क्षेत्रको कोरागुट्टा तथा आवापल्ली पुलिस थाना क्षेत्रको पेद्दापुन्नुर जङ्गलमा सुरक्षा बलले दुई अलग-अलग स्थानबाट नक्सली डम्प फेला पारेको छ। उक्त डम्पबाट ड्रोन, वायरलेस सेट, ठूलो परिमाणमा इलेक्ट्रोनिक उपकरण, हतियार तथा विस्फोटक सामग्री जफत गरिएको छ।

हिंसाको समय अन्त्य भएपछि नक्सलीहरूका पुराना ठेगानाबाट फेला परिरहेका उपकरणहरूले उनीहरूको प्राविधिक सञ्जालका विभिन्न पक्ष उजागर गरिरहेका छन्। यस जफ्तीपछि जङ्गलमा नक्सली सङ्गठनले सुरक्षा बलसँगको लडाइँमा हतियार मात्र नभई सञ्चार तथा निगरानीका लागि आधुनिक प्रविधि समेत प्रयोग गर्ने गरेको देखाएको छ।

जफत नक्सली डम्पमा रहेको ड्रोनमा जड़ान गरिएको क्यामेरा मार्फत उचाइबाट जङ्गल, बाटो तथा वरपरका गतिविधिमाथि निगरानी राख्न सकिन्थ्यो। अर्थात् दुर्गम क्षेत्रमा कुनै स्थानको निगरानी गर्न जमीनमा उपस्थित हुनुपर्ने आवश्यकता पर्दैनथ्यो। नक्सली ठेगानाबाट ल्यापटप, एन्टेना, ब्याट्री, पीसीबी बक्स तथा सोल्डरिङ उपकरण समेत फेला परेका छन्। यी उपकरणहरू इलेक्ट्रोनिक सर्किट तथा सञ्चार उपकरण निर्माण र मर्मतका लागि प्रयोग गर्न सकिने बताइएको छ।

सुरक्षा बलले पामेड पुलिस थाना क्षेत्रको कोरागुट्टा नक्सली डम्पबाट १४ वटा वीएचएफ (भेरी हाई फ्रिक्वेन्सी) र एउटा यूएचएफ (अल्ट्रा हाई फ्रिक्वेन्सी) वायरलेस सेटसँगै डीजीआई माविक-२ इन्टरप्राइज ड्रोन तथा ल्यापटप जफत गरेको छ। वीएचएफ र यूएचएफ सेट रेडियो तरङ्ग मार्फत सञ्चालन हुन्छन्। यी उपकरणको माध्यमबाट मोबाइल नेटवर्कको पहुँचभन्दा टाढ़ा जङ्गलमा रहेका विभिन्न समूहले आपसमा सम्पर्क गर्न सक्थे। यस्तै, आवापल्ली क्षेत्रको पेद्दापुन्नुर जङ्गलमा फेला परेको अर्को नक्सली डम्पबाट दुई वटा भरमार बन्दुक, एके-४७, एसएलआर, इन्सासका जीवित गोली तथा टिफिन बम जफत गरिएको छ।

बस्तरका आईजी बद्रीनारायण मीनाले यसको पुष्टि गर्दै ड्रोन र वायरलेस सेट नक्सलीहरूको सञ्चार सञ्जालको हिस्सा रहेको बताए। सुरक्षा बलमाथि निगरानी राख्न तथा आक्रमणका क्रममा यी उपकरण प्रयोग गरिने गरेको उनको भनाइ छ। नक्सली हिंसाबाट मुक्त भएका क्षेत्रमा माइन हटाउने अभियानका क्रममा लगातार हतियार, विस्फोटक पदार्थ तथा प्राविधिक उपकरणहरू जफत भइरहेका छन्। उनले यस्ता कुनै पनि नक्सली डम्पबारे जानकारी प्राप्त भए तत्काल पुलिसलाई सूचना दिन अपील गरेका छन्।

/ बिशाल


 rajesh pande