

रुड्की, २५ नोभेम्बर (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) रुड्कीले बुधवार आफ्नो स्थापना दिवस मनाएको छ। संस्थानले आईआईटीका रूपमा २५ वर्ष पूरा गर्नुका साथै सन् १८४७ देखि शुरु भएको आफ्नो संस्थागत विरासतको १८०औँ वर्षमा प्रवेश गरेको छ। थोमसन कलेज अफ सिभिल इन्जिनियरिङका रूपमा स्थापना भएको यो संस्थान साल २००१ मा आईआईटी रुड्की बनेको थियो। यसले देशको शैक्षिक, वैज्ञानिक तथा प्राविधिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
समारोहमा मुख्य अतिथिका रूपमा संस्थानकी पूर्वविद्यार्थी तथा कर्नाटककी राज्यपाल डा. सुधा यादव सहभागी भइन्। विशिष्ट अतिथिका रूपमा भारतीय प्रौद्योगिकी संस्थान (आईएसएम) धनबादको शासी मण्डलका अध्यक्ष प्रा. प्रेम व्रत तथा टाटा केमिकल्सका प्रबन्ध निदेशक एवं भारतीय उद्योग परिसङ्घका अध्यक्ष आर. मुकुन्दन उपस्थित थिए।
स्थापना दिवस समारोहको शुरुआत २४ नोभेम्बरमा प्रतिष्ठित पूर्वविद्यार्थी तथा उद्यमीहरूसँग आयोजित विभिन्न संवाद सत्रबाट भएको थियो। ती सत्रमा बृहत् सोच, डीप टेक्नोलोजी तथा कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता विषयमा छलफल गरियो। सफल उद्यमीहरूले आफ्ना अनुभव साझा गर्दै नेतृत्व, नवाचार तथा उद्यमशीलताका विभिन्न पक्षमाथि प्रकाश पारे। बुधवार मुख्य समारोह, पाँच किलोमिटरको विरासत दौड़, साल १९९९ ब्याचको सहयोगमा विकसित परियोजनाहरूको उद्घाटन, प्रविधि प्रदर्शनी तथा पूर्वविद्यार्थी पुरस्कार समारोह आयोजना गरियो।
कर्नाटककी राज्यपाल डा. सुधा यादवले आफ्नो मातृ संस्था आईआईटी रुड्कीमा फर्कन पाउनु आफ्ना लागि गर्व र खुशीको विषय भएको बताइन्। उनले यस संस्थानले भारतीय प्रौद्योगिकी संस्थानका रूपमा २५ वर्ष पूरा गर्नुका साथै आफ्नो संस्थागत विरासतको १८०औँ वर्षमा प्रवेश गरेको उल्लेख गरिन्। सन् १८४७ मा स्थापित यस संस्थानले भारतको इन्जिनियरिङ, वैज्ञानिक तथा प्राविधिक विकासमा महत्त्वपूर्ण योगदान दिएको उनले बताइन्। जलस्रोत, भूकम्प इन्जिनियरिङ, विपद् न्यूनीकरण, स्वच्छ ऊर्जा तथा उदीयमान प्रविधि जस्ता क्षेत्रमा भइरहेको कामले सामाजिक चुनौतीहरूको समाधानप्रतिको संस्थानको निरन्तर प्रतिबद्धता दर्शाउने उनको भनाइ थियो।
उनले विद्यार्थीहरूलाई आफ्नो ज्ञान तथा अनुसन्धानलाई समाजको आवश्यकतासँग जोड्न, निष्ठा र जिम्मेवारीका साथ नवाचारलाई अगाड़ी बढ़ाउन तथा राष्ट्र निर्माणमा सार्थक योगदान दिन प्रोत्साहित गरिन्। साथै, पूर्वविद्यार्थीहरूलाई पनि आफ्नो मातृ संस्थासँग सक्रिय रूपमा जोडिइरहन तथा मार्गदर्शन, सहयोग र ज्ञान आदान-प्रदान मार्फत आगामी पुस्तालाई सहयोग गर्न आग्रह गरिन्। रुड्कीको यो भूमि केवल शिक्षाको केन्द्र मात्र नभई संस्कार, अनुशासन र राष्ट्रसेवाको भावना प्रदान गर्ने भूमि पनि भएको उनले बताइन्।
पूर्वविद्यार्थी पुरस्कार समारोहमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका १८ जना पूर्वविद्यार्थीलाई सम्मानित गरियो। सम्मानित हुनेहरूमा प्रा. फैसल इरशाद खान, प्रा. दिनेश मोहन, पदम सिंह, रुचि वर्मण्य, डा. राजकुमार उपाध्याय, राजेश कुमार पाठक, डा. कपिल गर्ग, सञ्जय शर्मा, सर्वेश महेश, सुमित जैन, डा. ए.के. सभरवाल तथा प्रा. ई. बालागुरुसामी रहेका छन्।
त्यस्तै, युवा पूर्वविद्यार्थी पुरस्कार रुपेश कुमार र नवनीत चहललाई प्रदान गरियो भने उत्कृष्ट सेवा पुरस्कार डा. ओम प्रकाश कुलश्रेष्ठ, नवनीत बुटान, अम्बुज कुमार तथा डा. श्रेयस कुमारलाई प्रदान गरियो।
संस्थानका निदेशक प्रा. कमल किशोर पन्तले १८०औँ वर्षको शुभारम्भ तथा आईआईटीका रूपमा २५ वर्ष पूरा हुनु संस्थानका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले भविष्यमा संस्थानले शैक्षिक उत्कृष्टता, अन्तरविषयक अनुसन्धान तथा राष्ट्रिय एवं विश्वव्यापी चुनौतीहरूको समाधानमा विशेष ध्यान दिने बताए।
/ बिशाल