
गान्तोक, ०३ नोभेम्बर (हि.स.)। भारत सरकारका मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास एवं पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले सिक्किमको दुग्ध क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको प्रशंसा गर्दै दुग्ध सहकारी संस्थाहरूलाई सुदृढ बनाउने, उत्पादन क्षमता वृद्धि गर्ने तथा किसानहरूको जीविकोपार्जनमा सुधार ल्याउने आवश्यकतामाथि जोड दिएका छन्।
आज राजधानीको तादोङस्थित सिक्किम सहकारी दुग्ध उत्पादक सङ्घ लिमिटेडको भ्रमणका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै केन्द्रिय मन्त्रीले पछिल्लो एक दशकमा सिक्किमको दुग्ध क्षेत्रमा भएको प्रगतिबारे प्रकाश पारे। उनले राज्यमा दैनिक दूध उत्पादन ७९ प्रतिशतले वृद्धि भएर १ लाख ३७ हजार लिटरबाट २ लाख ४५ हजार लिटर पुगेको बताए।
उनका अनुसार, दुग्ध सहकारी संस्थाहरूको सङ्ख्या आर्थिक वर्ष २०१४-१५ मा ३८९ रहेको थियो भने आर्थिक वर्ष २०२५-२६ मा बढेर ७३३ पुगेको छ। त्यसैगरी, सहकारी संस्थासँग आबद्ध दुग्ध किसानहरूको सङ्ख्या करिब १० हजारबाट बढेर १६ हजार पुगेको छ। दूध सङ्कलन पनि दैनिक १७ हजार लिटरबाट बढेर ६१ हजार लिटर पुगेको छ। उनले यी तथ्याङ्कले दुग्ध क्षेत्रलाई सुदृढ बनाउन राज्यले गरेको प्रयासलाई प्रतिबिम्बित गरेको बताए।
सहकारी सञ्जाल विस्तारको महत्त्वमाथि जोड दिँदै मन्त्रीले व्यवस्थित सहकारी संस्थाहरूले किसानहरूलाई उचित तथा लाभदायक मूल्य सुनिश्चित गर्न, व्यवस्थित परीक्षणमार्फत दूधको गुणस्तर कायम राख्न तथा उपभोक्ताहरूको हित संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले बढ्दो दूध उत्पादन र बजारको मागअनुरूप दूध सङ्कलन, चिलिङ तथा प्रशोधनसम्बन्धी पूर्वाधारलाई सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औँल्याए।
उनले पशुधनको उत्पादकत्व वृद्धि तथा मूल्य अभिवृद्धि गरिएका दुग्धजन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए। यसले ग्रामीण क्षेत्रको आम्दानी बढाउनुका साथै दुग्ध अर्थतन्त्रलाई बलियो बनाउने उनले बताए। राष्ट्रिय दुग्ध क्षेत्रको सन्दर्भ उल्लेख गर्दै उनले भारत विश्वकै सबैभन्दा ठूलो दूध उत्पादक राष्ट्र रहेको बताउँदै विशेषगरी पूर्वोत्तर क्षेत्रका दुग्ध किसानहरूलाई निरन्तर सहयोग उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको उल्लेख गरे।
भ्रमणका क्रममा केन्द्रिय मन्त्रीले सिक्किम मिल्क युनियनको प्रशोधन केन्द्रमा सूक्ष्मजीव विज्ञान प्रयोगशालाको उद्घाटन गर्नुका साथै दुग्धजन्य उत्पादन तथा सम्बन्धित पहलहरू प्रदर्शन गरिएका प्रदर्शनी कक्षहरूको अवलोकन गरे।
कार्यक्रममा कर्फेक्टारस्थित सूक्ष्मजीव विज्ञान प्रयोगशालाको भर्चुअल माध्यमबाट उद्घाटन, छुर्पीको उत्पादन तथा आपूर्ति पहिचान प्रणालीको शुभारम्भ, ‘फोडर प्लस’ किसान उत्पादक सङ्गठन (एफपीओ) का उत्पादनहरू सार्वजनिक गर्नुका साथै नवस्थापित पाँचवटा दुग्ध सहकारी संस्थाहरूलाई दर्ता प्रमाणपत्र वितरण गरियो।
नयाँ पञ्जीकृत सहकारी संस्थाहरूमा गान्तोक जिल्लाका रेलिङ एमसीसी र चन्द्रोदय एमसीसी, गेजिङ जिल्लाको तक्लाक एमसीसी तथा नाम्ची जिल्लाका लोअर डांडाखड्का एमसीसी र तिरपाई एमसीसी रहेका छन्। यी पाँचवटा संस्थाअन्तर्गत कुल ६० जना किसान आबद्ध छन्। दूध सङ्कलनको अन्तिम चरण (ईओपी) मा यी संस्थाहरूबाट दैनिक ३५७.१ लिटर दूध सङ्कलन हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सिक्किम सरकारका मत्स्यपालन, पशुपालन तथा पशु चिकित्सा सेवा विभागका मन्त्री पुरण कुमार गुरुङ, स्वास्थ्य तथा परिवार कल्याण, संस्कृति एवं आयुष विभागका मन्त्री जीटी ढुङ्गेल, विधायक एनबी प्रधान, विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल