
मङ्पू, 03 नोभेम्बर (हि.स.)। सिन्कोना बगानका श्रमिकहरूका लागि खुशीको खबर आएको छ। लामो समयदेखि 330 रुपियाँ दैनिक हाजिरामा काम गर्दै आएका सिन्कोना श्रमिकहरूको हाजिरा वृद्धि भई अब 406 रुपियाँ पुगेको छ। यससँगै श्रमिकहरूको दैनिक ज्यालामा 76 रुपियाँ वृद्धि भएको छ।
प्राप्त जानकारीअनुसार, नयाँ हाजिरा दर 1 जुलाई, 2026 देखि नै लागू हुने गरी आदेश जारी गरिएको छ। यसर्थ, उक्त मितिदेखि हालसम्मको बाँकी रकम श्रमिकहरूले एरियरका रूपमा प्राप्त गर्नेछन्।
यस सम्बन्धमा गोर्खा जनमुक्ति मोर्चासम्बद्ध ट्रेड युनियन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले जानकारी गराएको हो। दैनिक हाजिरामा भएको यस वृद्धिले सिन्कोना बगानका श्रमिकहरूमा खुशीको माहोल सिर्जना गरेको छ।
यस निर्णयले श्रमिकहरूको आर्थिक अवस्थामा केही राहत पुग्ने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक