
कालेबुङ, ०३ नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड अथवा स्थायी राजनीतिक समाधान (पीपीएस) सम्बन्धी विषयमा केन्द्र सरकारद्वारा नियुक्त वार्ताकार पङ्कज कुमार सिंहको आह्वानमा गोर्खाल्याण्ड राष्ट्रिय आह्वानमा प्रतिनिधिमण्डलले कालेबुङस्थित एक होटलमा भेटवार्ता गरेको छ। बैठकमा गृह मन्त्रालयका प्रतिनिधिका रूपमा अरबिन्द खरे पनि उपस्थित थिए।
भेटका क्रममा प्रतिनिधिमण्डलले विभिन्न राज्यमा छरिएर रहेका भारतीय गोर्खाहरूको राजनीतिक, आर्थिक तथा सामाजिक सुरक्षा एवं राष्ट्रिय चिनारी र पहिचान सुनिश्चित गर्न गोर्खाल्याण्ड राज्यको कुनै विकल्प नरहेको धारणा राखेको छ।
केन्द्र सरकारले प्रस्ताव गर्न सक्ने स्थायी राजनीतिक समाधान (पीपीएस) गोर्खाल्याण्ड राज्यकै रूपमा हुनुपर्नेमा जोड दिँदै मञ्चले आफ्नो स्पष्ट अडान प्रस्तुत गरेको बताइएको छ।
करिब एक घण्टा १० मिनेटसम्म चलेको भेटवार्तामा प्रतिनिधिमण्डलले उठाएका विषयलाई गम्भीरतापूर्वक लिँदै पङ्कज कुमार सिंह र अरबिन्द खरेले मञ्चका माग तथा धारणालाई केन्द्र सरकारसमक्ष पुर्याउने आश्वासन दिएका छन्। साथै, भारतीय गोर्खाहरूका लागि सबैभन्दा उपयुक्त समाधान खोज्दै यस दिशामा आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन्।
भेटवार्तामा गोर्खाल्याण्ड राष्ट्रिय मञ्चका प्रमुख संयोजक लोकनारायण सुब्बा, सहसंयोजक सानु तामाङ र किशोर प्रधान, नारी प्रभारी शीतल सुब्बा, नागाल्याण्डका प्रतिनिधि शिबु सोनार तथा सञ्चारमाध्यम प्रभारी जोकमान थापाको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक