
मुजफ्फरपुर, १८ मार्च (हि.स.)। बिहारको मुजफ्फरपुर जिल्लाको गायघाट थाना अन्तर्गत असिया गाउँ मंगलबार राति रणक्षेत्रमा परिणत भयो। पाक्सो ऐन अन्तर्गतका एक अभियुक्तलाई पक्राउ गर्न पुगेको पुलिस टोली र स्थानीयबीच भीषण झड़प भयो। यस हिंसामा गोली लागेर एक स्थानीय व्यक्तिको मृत्यु भएको छ भने थाना प्रभारीसहित तीन जना पुलिस गम्भीर घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा पुलिस परिचालन गरिएको छ।
जानकारी अनुसार, केही दिनअघि एक नाबालिग बालिकासँग सम्बन्धित अपराधमा पाक्सो अदालतले अभियुक्तलाई पक्राउ गर्न आदेश दिएको थियो। सोही आदेश कार्यान्वयनका लागि गायघाट पुलिस टोली असिया गाउँमा छापा मार्न पुगेको थियो। पुलिसले अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरेपछि स्थानीयहरू आक्रोशित बने र विरोध शुरु गरे। हेर्दाहेर्दै विवाद चर्किँदै गएर स्थानीयहरूले पुलिसमाथि आक्रमण गरे।
मुजफ्फरपुरका एसएसपी कांतेश कुमार मिश्राले घटनाको पुष्टि गर्दै भने, अदालतको आदेशअनुसार पुलिस छापामारी गर्न गएको थियो, तर टोलीमाथि प्राणघातक आक्रमण भयो। आक्रोशित भीडले पुलिसका दुईवटा सवारी साधनमा क्षति पुर्यायो। यस घटनामा गायघाट थानाका इन्चार्ज र दुई अन्य पुलिस घाइते भएका छन्। घटनाका क्रममा आत्मरक्षाका लागि हवाई फायरिङ गरिएको पनि बताइएको छ। एसएसपीका अनुसार, स्थानीयतर्फबाट पनि गोली प्रहार भएको थियो, जसमा एक स्थानीय व्यक्ति जगतवीर राय (६० वर्ष) लाई गोली लागेर मृत्यु भएको हो।
घटनापछि असिया गाउँ तथा छेउछाउका क्षेत्रमा अवस्था अत्यन्त तनाउपूर्ण बनेको छ। स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै ग्रामीण पुलिस अधीक्षक र डीएसपी (पूर्वी) ठूलो पुलिस बलसहित घटनास्थलमा छन्। हाल पुलिसले सम्पूर्ण क्षेत्रमा फ्ल्याग मार्च गरिरहेको छ, ताकि शान्ति व्यवस्था कायम रहोस्।
पुलिस अधिकारीहरूका अनुसार, दोषीहरूको पहिचान भइरहेको छ र सरकारी काममा बाधा पुर्याउने तथा आक्रमण गर्नेहरूमाथि कडा कारबाही गरिनेछ। गाउँमा अहिले सन्नाटा छ र हरेक स्थानमा पुलिसको कडा निगरानी रहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी