
नयाँ दिल्ली, २१ मार्च (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ईद-उल-फितरको अवसरमा देशवासीलाई हार्दिक शुभकामना दिँदै समाजमा भाइचारा, सद्भाव र समृद्धिको कामना गरेका छन्।
राष्ट्रपति द्रौपदी मुर्मुले सोसल मिडिया प्लेटफर्म एक्समा आफ्नो सन्देशमा भनेकी छन्, ईद-उल-फितरको पावन अवसरमा सबै देशवासीहरूलाई, विशेषगरी मुस्लिम समुदायका मानिसहरूलाई हार्दिक बधाई। यो पर्वले आत्मसंयम, सेवा, परोपकार र वञ्चित वर्गहरूप्रति दया भाव राख्ने प्रेरणा दिन्छ। राष्ट्रपतिले मानिसहरूसँग यो अवसरमा समाज र राष्ट्रलाई सशक्त बनाउने संकल्प लिने आह्वान गरेकी छन्।
उपराष्ट्रपति सीपी राधाकृष्णनले आफ्नो सन्देशमा भने, “ईद मुबारक! यो पावन पर्वले आशा, सद्भाव र करुणालाई प्रोत्साहित गरोस् र सबैको जीवनमा खुशी र सफलता ल्याओस्।”
प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मा आफ्नो सन्देशमा देशवासीलाई ईद-उल-फितरको बधाई दिँदै भने, 'यो दिनले समाजमा भाइचारा र दया भावनालाई थप मजबुत बनाओस्।' उनले सबैको सुख, शान्ति र उत्तम स्वास्थ्यको कामना गरेका छन्।
उल्लेखनीय छ, देशमा आज ईद-उल-फितरको पर्व हर्षोल्लाससँगै मनाइँदै छ। मस्जिदहरूमा विशेष नमाज अदा गरिँदै छ र मानिसहरू एकअर्कालाई अँगालो हालेर बधाई दिइरहेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी