
गान्तोक, 29 मार्च (हि.स.)। राजधानीको पाल्जोर स्टेडियमस्थित इन्डोर बास्केटबल कोर्टमा आयोजित तीन दिवसीय सिक्किम स्ल्याम 3x3 खुल्ला बास्केटबल प्रतियोगिता आइतवार समाप्त भयो। गान्तोक जिल्ला प्रशासनिक केन्द्र र गान्तोक जिल्ला पुलिसले फ्रीडम पुनर्वास सुविधाको सहकार्यमा आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्गपा मुख्य अतिथि तथा ग्याल्से पाल्देन ग्युर्मेद नामग्याल र राजकुमारी होप लीजुम नामग्याल विशिष्ट अतिथि थिए।
प्रतियोगिता अन्तर्गत महिला वर्गको फाइनल खेल बुढानिलकण्ठ, नेपाल बनाम आले उप, उत्तर प्रदेशबीच खेलियो, जसमा आले उप 20-14 ले विजयी बन्यो। यसरी नै पुरुष वर्गको फाइनल खेल खरसाङ र सलेसियन युथ मुभमेन्ट, शिलङबीच सम्पन्न भयो, जसमा शिलङ 17-15 ले विजयी बन्यो। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाको बाहुलीद्वारा प्रतिभागी दलहरूलाई ट्रफी नगद राशि प्रदान गरियो।
यस अवसरमा आयोजक संस्थाले अतिथिहरू र प्रायोजकहरूलाई सम्मान पनि जनाएको थियो। कार्यक्रममा विधायक आदित्य गोले, विधायक इरुङ तेन्जिङ लेप्चा, एसबीएसका प्रबन्ध निदेशक फुर्बा वाङ्गदी तथा अन्यहरू पनि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / बिशाल