
- दार्जिलिङबाट अजय एडवर्ड्स, खरसाङबाट बन्दना राई र कालेबुङबाट भेर्नोन ब्रिटो लेप्चा उम्मेदवार
सोनादा, 29 मार्च (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएम) ले आगामी विधानसभा चुनाउका लागि आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ। आइतवार सोनादादेखि केही मुनि स्थित इन्टेकमा श्रमदानद्वारा निर्माण भइरहेको उन्मुक्ति पुलको अन्तिम ढलाईसॅंगै आज आईजीजेएफले उम्मेदवारहरूको घोषणा गऱ्यो।
दार्जिलिङ विधानसभा क्षेत्रबाट पार्टीका केन्द्रिय संयोजक अजय एडवर्ड्स आफै चुनाउ मैदानमा उत्रेका छन्। त्यसरी नै खरसाङ विधानसभा क्षेत्रबाट अधिवक्ता बन्दना राईलाई टिकट दिइएको छ भने कालेबुङ विधानसभा क्षेत्रबाट पूर्व जिल्लाधिकारी भेर्नोन ब्रिटो लेप्चालाई उम्मेदवार बनाइएको छ। आईजीजेएफले पहाडका तीनवटा विधानसभा समष्टिहरु लगायत तराई डुवर्समा पनि आफ्ना उम्मेदवारहरु उठाएका छन्।
आईजीजेएफले मतिगढा नक्सलबारी विधानसभा क्षेत्रबाट निमेष सुन्दास र सिलगढी विधानसभा क्षेत्रबाट कृष्णनन्द सिंहलाई उम्मेदवार घोषणा गरेको छ। यस अतिरिक्त, डुवर्स क्षेत्रका नगरकट्टा विधानसभा क्षेत्रबाट रञ्जित खेस र मालबजार विधानसभा समष्टिबाट चन्दन लोहरालाई उम्मेदवार घोषणा गरेको छ। आईजीजेएफले भारतीय जनता पार्टी र तृणमूल कांग्रेस जस्ता राष्ट्रिय राजनीतिक पार्टीहरुलाई समर्थन नगरेर क्षेत्रीयता बचाउन पार्टी उम्मेदवारहरूलाई आह्वान गरेको छ।
गत धेरै दिन अघिदेखि उम्मेदवारहरूलाई लिएर चर्चा चलिरहेको थियो। इन्टेकमा निर्माणाधिन उन्मुक्ति पुलको निर्माण कार्यमा श्रमदान गर्न आज पहाडका विभिन्न स्थानहरूबाट मानिसहरू आएका थिए। यस अवसरमा अजय एडवर्डस, बन्दना राई, भेर्नोन ब्रिटो लेप्चाले पनि पुल निर्माणमा आफ्नो योगदान दिएका थिए।
आईजीजेएफ केन्द्रिय संयोजक अजय एडवर्ड्सले खरसाङ विधानसभा समष्टिका लागि पार्टीले बन्दना राईलाई प्रार्थी बनाएको बताए। उनले बन्दना राई एकदम सक्षम व्यक्ति हुन् र राईले श्रमिकहरुका लागि आवाज उठाउॅंदै आइरहेको बताए।
पार्टीको केन्द्रिय चुनाउ कमिटी सदस्य एनबी खवासले आईजीजेएफले पहाड, तराई र डुवर्स क्षेत्रको लागि उम्मेदवारहरु उठाएको बताए। उनले भने, हामीले परिवर्तन चियाबारीबाट शुरु गर्नुपर्छ। हामी भ्रष्टाचार विरोधी आवाज उठाउन चाहन्छौं र यस कार्यलाई हामी मुखले मात्र होइन तर व्यवहारिक रूपमा गर्न चाहन्छौं।
हिन्दुस्थान समाचार / हनोक