
गान्तोक, 29 मार्च (हि.स.)। राजधानीमा आज 'आगो रोकथाम र न्यूनीकरण रणनीतिहरू' विषयमाथि क्षेत्रीय कार्यशाला आयोजना गरियो। यस कार्यशालामा पूर्वोत्तर भारतका प्रमुख सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो, जसलाई वन डढेलो न्यूनीकरण प्रणालीलाई सुदृढ़ पार्न छलफल गरियो। कार्यक्रममा वन डढेलो रोकथाम र प्रतिक्रियाबारे सिक्किमको अनुकरणीय कार्य पनि प्रदर्शन गरिएको थियो।
कार्यशालाको आयोजना वन तथा पर्यावरण विभाग र केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले भारतीय वन प्रबन्धन संस्थानको संयुक्त तत्वावधानमा गरेको थियो। कार्यक्रममा विभिन्न राज्यहरूका वरिष्ठ वन अधिकारीहरू, आपदा प्रबन्धन प्राधिकारहरू, विशेषज्ञहरू र क्षेत्र अभ्यासकर्ताहरू उपस्थित थिए।
कार्यशालाको उद्घाटन सत्रमा सिक्किम सरकारको वन तथा पर्यावरण विभागका प्रधान सचिव डा. प्रदीप कुमारले वन डढेलो रोकथामप्रति सिक्किमको सक्रिय र प्रभावकारी दृष्टिकोणमाथि प्रकाश पार्दै यी उपलब्धिहरूलाई कायम राख्न निरन्तर अन्तर-क्षेत्रीय समन्वय र बलियो समुदायको सहभागिताको आवश्यकतामा जोड दिए। उनले पानीको अभाव र जनस्वास्थ्य लगायत वन डढेलोको बृहत् प्रभावमा जोड दिए। उनले वन डढेलो रोकथाम र न्यूनीकरणमा सिक्किमको नेतृत्वलाई मान्यता दिएकोमा आईआईएफएम भोपाललाई पनि धन्यवाद दिए।
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका निर्देशक प्रभाकर राईले आपदा प्रबन्धनको दृष्टिकोणबाट वन डढेलोबारे आफ्ना विचारहरू राखे। उनले आपदा प्रबन्धनका विभिन्न पक्षहरूमा प्राधिकरण र वन विभाग बीचको व्यापक सहकार्यको सराहना गरे।
असम, नागाल्याण्ड र नेशनल रिमोट सेन्सिङ सेन्टर लगायत अन्य राज्य र एजेन्सीहरूले पनि आफ्ना उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरेका थिए। समुदाय-केन्द्रित आगलागी रोकथाम, पूर्व चेताउनी प्रणालीलाई सुदृढ़ पार्ने, संस्थागत समन्वय सुधार गर्ने, र आगलागी प्रतिक्रिया र आगलागी पछिको पुन:प्राप्ति रणनीतिहरूलाई बढावा दिने अवलोकनहरू प्रस्तुत गरियो।
राज्य शिक्षा एवं विज्ञान तथा प्रौद्योगिकी विभागका प्रधान सचिव सन्दिप ताम्बेले सिक्किमको सन्दर्भमा वन डढेलोको बारेमा आफ्नो अवलोकन प्रस्तुत गरे। उनले विभागले चालेका कदमहरूको प्रशंसा गर्दै उत्तरपूर्वी राज्यहरूका सहभागीहरूलाई आफ्नो विचार साझा गरेकोमा र सम्मेलनलाई समृद्ध बनाएकोमा धन्यवाद दिए।
हिन्दुस्थान समाचार / बिशाल