स्व मोहन कुमार राईको सम्मानमा दुई दिवसीय खेल उत्सव आयोजना गरिने
स्व मोहन कुमार राईको श्रध्दाञ्जलीस्वरुप खरसाङमा दुई दिवसीय खेल उत्सवको आयोजना गरिने


खरसाङ, 29 मार्च (हि.स.)। स्व मोहन कुमार राईको सम्मानमा खरसाङमा दुई दिवसीय खेल उत्सव आयोजना गर्ने निर्णय लिइएको छ। खरसाङ महकुमा खेलकूद संघ अनि खरसाङको नयाँ बस्ती फुटबल क्लबका सदस्यहरुलाई लिएर सम्पन्न एक संयुक्त सभामा उक्त निर्णय लिइएको हो।

संयुक्त सभामा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले यस दुई दिवसीय खेल उत्सवबारे विस्तृत रुपमा रिपोर्ट प्रस्तुत गरेका थिए। सचिव गुरुङले प्रस्तुत गरेको रिपोर्टप्रति नयाँ बस्ती फुटबल क्लबका पदाधिकारीहरूर सदस्यहरुले पनि सहमति जनाए। यस विषयलाई लिएर आगामी दिनहरूमा क्लबको एउटा सभा राख्ने अनि खेलकूद संघलाई जानकारी दिने बताइएको छ।

सभालाई सम्बोधन गर्दै खरसाङ महकुमा खेलकूद संघका उपाध्यक्ष फुर्बा घिसिङ अनि वर्तमान सल्लाहकार दावा गोलेले स्व मोहन कुमार राई खेलकूद भनेपछि मरिमेट्ने व्यक्ति थिए भन्दै उनको स्मृतिमा दुई दिवसीय खेल उत्सवको आयोजना गर्नु उनीप्रति साँचो श्रद्धाञ्जली हुने बताए।

खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले जानकारी दिए अनुसार, स्व मोहनकुमार राईको स्मृतिमा श्रद्धाञ्जली स्वरूप आगामी 16 अनि 17 मई, 2026 का दिन स्व. राईकै गाउँ स्थानीय नयाँ बस्तीमा आयोजना गरिने भएको छ। यसैगरी, आगामी विधानसभा चुनाउका कारण अप्रेल महिनामा खेलाइनु पर्ने खेल प्रतिस्पर्धाहरुलाई एक महिनाको लागि स्थगित गरिएको पनि उनले बताए।

ज्ञात रहोस्, स्व मोहनकुमार राईको मृत्यु गत 13 मार्चको दिन खरसाङ महकुमा अस्पतालमा भएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande