
- ग्राम पञ्चायतकी कार्यकरी सहायकको पनि नाम भयो डिलिट
खरसाङ, 29 मार्च (हि.स.)। मतदाता विशेष गहन पुनरीक्षण (एसआईआर) विषयलाई लिएर आज केही पीडित व्यक्तिहरुले पत्रकार सम्मेलन गरेर मतदाता सूचीबाट आफ्नो नाम काटिएको विषयमा तीव्र असन्तुष्टि व्यक्त गरे। उनीहरुले केन्द्रिय गृहमन्त्री लगायत दार्जिलिङका सांसद राजु विष्ट र जीटीए प्रमुख कार्यपाल अनित थापा समक्ष न्यायको निम्ति गुहार लगाएका छन्।
खरसाङका एक परिचित व्यक्ति, सामाजिक कार्यकर्ता फिरोज अख्तर उर्फ बब्लुले एसआईआरमा खरसाङ नगरपालिकाका 20 वार्डबाट मात्र 473 जनाको नाम काटिएको जानकारी गराए। उनले नाम काटिएकाहरू के उनीहरू सबै बंगलादेशी रोहिंगाहरु हुन् भनी प्रश्न तेर्साएका छन्। उनले कोभिड महामारीको समयमा कागजपत्र नभएका मानिसहरूको पक्षमा आवाज उठाउॅंदै उनीहरूलाई टिका लगाइदिने कार्य गरेको बताए। यसैगरी, एसआईआर प्रक्रिया अवधि पनि धेरैलाई मद्दत पुऱ्याएको बताए, तर भोटर लिस्टबाट आफ्नै नाम डिलिट भएको देख्दा आश्चर्य लागेको बताए।
उनले प्रश्न गर्दै भने, नाम काटिएको पीडामा यदि कसैले आत्महत्या गरे त्यसको जिम्मा कसले लिन्छ? उनले सोमबार यही विषयलाई लिएर खरसाङ महकुमा शासकलाई भेट्ने कार्यक्रम रहेको जानकारी दिँदै भोलि बिहान सबै पीडितहरु र खरसाङ विधानसभाका सबै प्रार्थीहरुलाई आइदिने अपील गरे।
खरसाङ नगरपालिकाको वार्ड नम्बर 11 का पूर्व नगरपार्षद, जीटीएका पूर्व बीओए सदस्या एवं आकाशवाणी खरसाङमा एक उद्घोषिकाको रुपमा 32 वर्ष सेवा दिएर अवकाश ग्रहण गरेकी जैतुन निशा हुसेन उर्फ शशीको नाम पनि सूचीबाट डिलिट भएको छ। उनले आश्चर्य व्यक्त गर्दै आफुसित चाहिएका सबै कागजपत्र रहेको, तरै पनि आफ्नो नाम डिलिट भएकोमा दु:ख व्यक्त गरिन्।
उनले आफुहरू बाजे पुर्खादेखि यहाँ बसोबासो गर्दै आएको र आफ्नो जन्म समेत यही भएको बताउॅंदै किन नाम काटियो भनी प्रश्न गरिन्। उनले यी सबै समस्याहरुको समाधानका लागि दार्जिलिङका सांसद राजु विष्ट अघि आउने पर्छ भनी बताइन्। उनले भनिन्, भाजपालाई पहाडवासीले 20 वर्षदेखि जिताएर आएको छ, तर आज तिनै पहाडवासीको नाम भोटर लिस्टबाट डिलिट हुँदा उनीहरु किन बोल्दैन?
अर्कोतिर एसआईआर प्रक्रियामा आफ्नो सेवा दिएकी एक सरकारी कर्मचारी खरसाङ खण्ड अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायतकी कार्यकरी सहायक मोना स्याङदेन खानको नाम पनि भोटर लिस्टदेखि डिलिट थाहा लागेको छ। उनले आफु एक सरकारी कर्मचारी रहेको र एसआईआरको प्रक्रियामा आफ्नो अधिन 6 वटा ब्लक परेको अवगत गराइन्। सबै बीएलओहरुले निष्ठापूर्वक काम गरेको भए तापनि एसआईआर प्रक्रिया एकदमै हतारमा गरिएकाले बीएलओहरुलाई पनि धेरै चाप परेको बताइन।
उनले उनको बुबा एक अवकाशप्राप्त ब्रिटिश आर्मी थिए भने पछि केन्द्र सरकारको अधीन एसआईबीमा पनि कार्य गरेर अवकाश ग्रहण गरेको बताइन्। उनले धेरै व्यक्तिहरुको नाम भोटर लिस्टबाट डिलिट भएको छ र उनीहरूलाई आफ्नो नाम डिलिट भयो भनेर थाहा पनि छैन भनिन्। उनले यसलाई सिस्टमकै गल्ति ठहर गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक