तेस्रो अन्तरराष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव 2082 मा भारतीय साहित्यकारहरूको सहभागिता
भारतीय साहित्यकारहरू


धरान, 30 मार्च (हि.स.)। साहित्य कला संस्कृति प्रतिष्ठानद्वारा आयोजित तेस्रो अन्तरराष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव 2082 मा भारतीय साहित्यकारहरूको बाक्लो सहभागिता रह्यो। सिक्किम, दार्जिलिङ, कालेबुङ, सिलगढ़ी र असमका साहित्यकारहरूले महोत्सवमा उपस्थिति दिएका थिए। जसमा साहित्यको विभिन्न विधामा शोध पत्र प्रस्तुती, साहित्यिक विमर्शमा सहभागिता तथा कविता गोष्ठीमा प्रस्तुती सामेल थिए।

असमबाट साहित्यकार डा. ज्ञान बहादुर छेत्री, सिलगढीबाट कवि ज्ञानेन्द्र खतिवाडा, कवि मोहन ठकुरी, दार्जिलिङबाट डा. राजकुमार छेत्री, सिक्किमबाट साहित्यकार टीबी चन्द्र सुब्बा र कवि प्रवीण खालिङ, कालेबुङबाट डा. नवीन पौडेलले सहभागिता जनाएका थिए। धरान उपमहा नगरपालिका वडा नम्बर 13 को अभिभावकत्वमा आयोजित कार्यक्रममा पश्चिम नेपालको सुदूर कर्णालीदेखि पूर्व नेपाल र भारतका विभिन्न प्रान्तका साहित्यकार चिन्तकहरूको उपस्थितिमा 27 मार्चदेखि 29 मार्चसम्म भाषा साहित्य, संस्कृति र पर्यटन विषयमा चिन्तन गरिएको थियो।

वडा अध्यक्ष तथा प्रतिष्ठानका संरक्षक नेत्रप्रसाद काफ्लेले यसरी महोत्सव राख्नुको उद्देश्य साहित्यको उत्थान र सँस्कृतिलाई पर्यटनसित जोड्न रहेको तथा अन्तरराष्ट्रिय स्तरबाट विचार आदान-प्रदान गर्नु रहेको बताए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति कवि भुपाल राईसमेत स्थापित साहित्यकार तथा संस्कृतिकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्तरालमा देश विदेशबाट आएका अतिथिहरूलाई सांसद हर्क साम्पाङको मेयरको कार्यकालमा स्थापित चर्चित श्रम संस्कृति पार्कसमेत स्थानीय धार्मिक पर्यटकीय केन्द्रको भ्रमण गराइएको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande