
खड़गपुर, 30 मार्च (हि. स.)। खड़गपुर सदर विधानसभा क्षेत्रको लागि कंग्रेसद्वारा प्रत्याशी घोषित गरिएपछि पार्टीभित्रको असन्तोष बाहिरिएको छ। उम्मेद्वारको रूपमा पापिया चक्रवर्तीको नाम घोषणा भएपछि गए आइतवार राती गोल बजारस्थित कंग्रेस कार्यालय सामु पार्टीका केही कार्यकर्ता तथा समर्थकहरूले विरोध प्रदर्शन गरे।
स्थानीय सूत्र अनुसार पहिला अन्य कुनै व्यक्तिलाई उम्मेद्वार बनाउने चर्चा भइरहेको थियो, तर अन्तिम सूचीमा पापिया चक्रवर्तीको नाम घोषणा भएपछि कार्यकर्ताहरूमा असन्तोष फैलियो जसको विरोधमा कार्यकर्ताहरूले पार्टी कार्यलय सामु भेला भएर पार्टी नेतृत्वविरूद्ध नाराबाजी गरे। प्रदर्शनकारीहरूको आरोप छ, उम्मेद्वार चयनमा धरातलीय स्तरका कार्कर्ताहरूको मतलाई बेवास्ता गरिएको छ।
जिल्ला युवा कंग्रेसका सचिव छोटन सेनले भने, खड़गपुर सदरबाट घोषित उम्मेद्वारको पहिला आरएएस र भाजपासित सम्बन्ध थियो वा भनौं अहिले पनि सम्बन्ध छ।
यसरी नै खड़गपुर कंग्रेसका युवा नेता अमित शर्माले भने, खड़गपुर सदरबाट घोषित उम्मेद्वारलाई खड़गपुर शहर युवा कंग्रेसले स्वीकार गर्ने छैन। पार्टीले यस्तो व्यक्तिलाई उम्मेद्वार बनाुनुपर्छ जो लामो समयदेखिकै कंग्रेसको विचारधारा अनि संगठनसित जोड़िँदै आएको छ। यदि पार्टी नेतृत्वले यस निर्णयमाथि पुनर्विचार गरेन भने शहरका सबै 35 वटा वार्डमा आन्दोलन गरिनेछ।
यस सम्पूर्ण मामिलामाथि सोमवार बिहान कंग्रेस प्रत्याशी पापिया चक्रवर्तीले फोनमा प्रतिक्रिया व्यक्त गर्दै भने, हरेक राजनीतिक दलमा धेर-थोर विरोध त हुन्छ नै। दुई-चारजनाको विरोधले खासै समस्या पार्दैन। तथापि उनले भने, बातचितको माध्यमबाट यस मुद्दालाई सुल्झाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा