विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको आवाज उठाउनलाई भोटमा उठेको छु: अमर लामा
अमर लामाकाे चुनाउ प्रचार जारी


खरसाङ, 31 मार्च (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी अमर लामाले मंगलवार तीनधारे चियाबारीमा आफ्नो चुनाउ प्रचार गरे। तीनधारे चियाबारीको कारखाना परिसरमा स्थानीय चियाबारी श्रमिकहरुसित भेटघाट गर्दै उक्त स्थानमा आयोजित चुनावी सभालाई अमर लामाले सम्बोधन पनि गरेका थिए।

अमर लामाले आफु विधायक भएर गएपछि चियाबारी श्रमिकहरुको न्यूनतम ज्यालाको लागि विधानसभामा आवाज उठाउने बताए। उनले राज्य सरकारले चियाबारी श्रमिकहरुको लागि हेल्थ इन्स्योरेन्स शुरु गर्न लागेको पनि जानकारी गराए। उनले पहिलेका विधायकहरुले चियाबारी श्रमिकहरुको आवाज ठीकसॅंगले नउठाएको आरोप लगाउॅंदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सरकारसित मिलेर काम गरिरहेको हुनाले श्रमिकहरुको आवाजलाई सठीक रुपमा सरकार समक्ष उठाइने बताए।

अमर लामाले अघि भने, म विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको लागि न्यूनतम ज्यालाको लागि आवाज उठाउनेछु। मपछि अर्को पार्टीको पनि चुनाउ प्रचारमा आउनेछ र हामीले चामल दिॅंदैछौं भन्दै भोट माग्नेछन्। तर, हामीले चामल मागेका होइनौं, हामीले गोर्खाल्याण्ड मागेका हौं। हामीले मागेको 11 जात गोष्ठीलाई जनजाति मान्यता हो। अहिलेसम्म हाम्रो भोट चामलसित साट्दैछ। यसपाली हामीले चामलसित भोट साट्नु हुँदैन।'

अमर लामाले अझ भने, मैले चियाबारी हितमा काम गर्दिन र चियाबारी जीटीए पर्दैन भनेर विपक्षीले अफवाह फैलाउने काम गरिरहेको छ। मैले श्रमिकहरुको हितमा काम गरेको छु। श्रमिकहरुको लागि धेरैपल्ट बोलेको छु। यसपाली विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको आवाज उठाउनलाई भोटमा उठेको छु।' उनले आफु दार्जिलिङको भए पनि चुनाउ जितेर विधायक बनेको खण्डमा आफ्नो कार्यालय खरसाङमै हुने बताए। उनले भने, म खरसाङमा नै बस्नेछु। खरसाङमा मलाई जनताले सजिलै भेट्न सक्नेछन्। 24 घण्टा नै जनताको सेवामा रहनेछु।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande